तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची आयोजनाका कर्मचारीको समस्या समाधानका लागि पहल गर्छौं : नेता सिंह

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने बताउनुभएको छ ।

मेलम्ची खानेपानी आयोजनाबाट आफूले पाउनुपर्ने तलब नपाएको आयोजनाका कर्मचारीले गुनासो गरेपछि उहाँले यस्तो बताउनुभएको हो ।

मेलम्ची खानेपानी आयोजनाबाट ६१ कर्मचारीले साउन महिनादेखि अहिलेसम्म पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै कर्मचारीले पानी पथान्तरणमा असहयोग गर्ने चेतावनी दिएका छन् ।

आज सिंहलगायत बागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, नवनिर्वाचित सांसद, मेलम्चीका नगरप्रमुख आइतमान तामाङ र हेलम्बुका प्रमुख निमा ग्याल्जेन शेर्पासहितले खानेपानी मुहानको अवलोकन गर्ने क्रममा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथान अडिटमा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा जानकारी गराउँदै कर्मचारीको तर्फबाट समस्या राख्नुभएको हो ।

निर्देशक श्रेष्ठले सरकारले ‘फास्ट ट्र्याक’बाट कर्मचारीको पारिश्रमिक उपलब्ध गराउने कुरामा ध्यान जान जरुरी रहेको बताउनुभयो । उहाँले इन्धन, बिग्रेका गाडी मर्मत तथा अन्य सरकारी पक्षबाट हुनुपर्ने काम हुन नसकेको भन्दै यथाशीघ्र माग पूरा गर्न माग गर्नुभयो ।

सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरेपछि महत्त्वपूर्ण निर्णय पनि हुन नसकेको उहाँको भनाइ थियो ।

निरीक्षणका क्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौँमा पानी ल्याएर खुवाउँछौँ भनेर भोट मागेजस्तै आफूहरूले पनि पानी पठाएबापत बजेट पाइन्छ भनेर जनतासँग मत मागेको बताउनुभयो ।

बुधबारमात्रै खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने बताउनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button