तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारीलाई नियमित गर्न तातोपानी गाउँपालिकामा डिजिटल हाजिर

जुम्ला । स्थानीय तहदेखि अधिकांश सरकारी कार्यालयमा कर्मचारीहरू बिहान अबेर आउने र साँझ सबेरै घर जाने चलन छ । 

कार्यालय समय १०ः०० बजेदेखि ४ः०० बजेसम्म भएता पनि अधिकांश सरकारी कर्मचारीहरू बिहान ११ः००/१२ः०० बजे आउने र दिउँसो ३ः०० नबज्दै घर जाने प्रवृत्ति बढ्दो छ । जसका कारण सेवाग्राहीले समयमै बेला सेवा नपाउने र कर्मचारीहरू आउने बित्तिकै हाजिर लगाएर जाने गरेको पाइन्छ । 

बिहानै ठिक १०ः०० बजे कार्यालय पुग्ने हो भने अधिकांश कार्यालयमा कर्मचारी अनुपस्थित हुन्छन् । उनीहरूको आउने र जाने समयको टुङ्गो नै हुदैन् । विभिन्न बाहना देखाउँदै बिदामा बस्ने र एकमुष्ट हाजिर लगाएर तलब खाने समेत प्रवृत्ति कर्मचारीहरूमा बढ्दो छ । 

समयको बचत, सेवा प्रवाहलाई छिटो छरितो र कर्मचारीलाई कार्यालयमा नियमित गराउन यहाँको तातोपानी गाउँपालिकाले डिजिटल हाजिरी जडान गरेको छ । 

प्रविधिको प्रयोगबाट दैनिक कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले गाउँपालिकामा आजदेखि डिजिटल हाजिरी प्रविधिको सुरु गरिएको हो । 

डिजिटल हाजिरीको विधिवत् सुरुवात गर्दै जुम्लाका नव निर्वाचित प्रदेश सांसद द्वय देवेन्द्र बहादुर शाही र टेकराज पछाईले समृद्ध तातोपानी बनाउन जनता सेवाबाट सन्तुष्ट हुनुपर्नेमा जोड दिनुभएको छ  । 

सेवालाई नागरिकमैत्री बनाउन डिजिटल हाजिर कोशेढुंगा सावित हुने भन्दै उहाँहरूले जुम्लाका सबै पालिकाले प्रविधिमैत्री सेवामा जोड दिनुपर्ने बताउनुभएको छ । 

डिजिटल हाजिरीले कर्मचारीलाई नियमित गराउने आशा छ । सबै कर्मचारी समयमै आउने र बेलुका ४ः०० बजेपछि मात्रै घर जाने छन् । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले भन्नुभयो,“बिहान ठिक १०ः०० बजे आएपछि बेलुका ४ः०० नबजी हाजिरी गर्न पाईने छैन । कसैले हाजिर गर्न खोजे पनि सप्टवयरले मान्दैन । यसले गर्दा सेवा प्रवाहमा सुधार आउने आशा छ ।”

निर्वाचित सांसदलाई तातोपानी धारा व्यवस्थापन, भेरीखोला क्षेत्रमा बैङ्क स्थापना, गिडिदहको पूर्वाधार विकास लगायतका क्षेत्रमा सहयोग गर्न माग पत्र हस्तान्तरण गरिएको अध्यक्ष चौलागाईले जानकारी दिनुभयो । 

डिभिजन हाजिरी भर्खर सुरुवात गरेको तातोपानीले प्रविधि मैत्री सेवा भने केही महिना अघिबाटै सुरु गरेको थियो । सबै वडाबाट अनलाइन प्रणालीले कर सङ्कलन, डिजिटल नागरिक बडापत्र, ईलेक्टोनिक बोर्ड लगायतका प्रविधिहरू सञ्चालनमा आइसकेको छ । यद्यपि, बत्ती राख्ने ठाउँको अभावले भने सबै प्रविधि नियमित सञ्चालनमा समस्या रहेको पालिकाले जनाएको छ । 

सेवा प्रवाह विकास निर्माणका हिसाबले जिल्लाकै पहिलो र नमुना बन्ने होडमा रहेको तातोपानीले आफ्ना कामलाई छिटो छरितो र सेवालाई प्रविधि मैत्री बनाउन थालेको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज कठायतले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button