तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा १ सय १८ उम्मेदवारको धरौटी जफत

वीरगंज । पर्सामा २ महिलासहित १ सय १८ जना उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ ५३ जना उम्मेदवार रहेकोमा ४२ जना र प्रदेशसभा सदस्यतर्फ १ सय ८ जना उम्मेदवार रहेकोमा ७६ जना उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभातर्फ पर्सा क्षेत्र नम्बर १ बाट २१ जनाले उम्मेदवारी दिएकोमा लोसपाका लक्ष्मणलाल कर्ण सहित १८ जनाको धरौटी जफत भएको छ भने क्षेत्र नम्बर २ बाट ११ ले उम्मेदवारी दिएकोमा ८ जना,  क्षेत्र नम्बर ३ बाट ११ जनाको उम्मेदवारी परेकोमा ८ जना र क्षेत्र नम्बर ४ बाट १० जनाले उम्मेदवारी दिएकोमा ८ जनाको जमानत जफत भएको झाले बताउनु भयो । 

त्यसैगरी प्रदेशसभातर्फ पर्सा १ (क) बाट १८ जनाले उम्मेदवारी दिएकोमा १३ जनाको धरौटी जफत भएको छ भने १ को (ख)बाट २० जनाले उम्मेदवारी दिएकोमा शशि कपुर मिया सहित १६ जनाको धरौटी जफत भएको छ । 

त्यसैगरी क्षेत्र नम्बर २ को (क) मा ९ जनाले उम्मेदवारी दिएकोमा ७ जना, ख मा १४ जनाले उम्मेदवारी दिएकोमा सङ्घीय सरकारकी पूर्व राज्यमन्त्री करिमा बेगम सहित १० जनाको धरौटी जफत भएको छ । 

क्षेत्र नम्बर ३ को क मा १२ जनाले उम्मेदवारी दिएकोमा ६ जनाको धरौटी बापतको जमानत जफत भएको छ भने ३ को ख मा १४ जनाले उम्मेदवारी दिएकोमा १० जनाको जमानत जफत भएको छ । 

यसैगरी क्षेत्र नम्बर ४ को क मा १० जनाले उम्मेदवारी दिएकोमा ७ जनाको धरौटी बापतको जमानत जफत भएको छ भने ४ को ख मा ११ जनाले उम्मेदवारी दिएकोमा माओवादी केन्द्रकी शेख चाँद तारा सहित ९ जनाको धरौटी जफत भएको छ ।

धरौटी रकम जोगाउन उम्मेदवारहरूले आफ्नो क्षेत्रमा खसेको कुल मतमध्ये सदर मतमा १० प्रतिशत मत ल्याउनुपर्ने कानूनी प्रावधान छ । १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत भएको झाले बताउनु भयो । प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ ५ हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको थियो । महिला, दलित, अल्पसङ्ख्यकको हकमा भने दर्ता शुल्कमा ५० प्रतिशत छुट दिइएको थियो । 

पर्सामा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा बाहेक माओवादी केन्द्र, लोसपा, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, सहित अन्य साना दलका उम्मेदवारले धरौटी रकम जोगाउन नसकेको भेटिएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button