तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाका १० मतदान केन्द्रमा मतदान जारी

काठमाडौँ I दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणअनुसार हालसम्म करिब १५ प्रतिशत मतदान भएको छ । मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।

सो जिल्लाको वैतेश्वर गाउँपालिका–६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान जारी रहेको हो । 

ती मतदान केन्द्रमा यही मङ्सिर ४ मा भएको मतदानमा विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले उक्त मतदान रद्द गरी पुनः मतदान गराउन मङ्सिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button