तपाईँ सुन्दै हुनुहुन्छः

निर्धारित समयमा योजना सम्पन्न गर्न वडासचिवहरुलाई बुटवल उपमहानगरको निर्देशन

रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निर्धारित समयमै योजना कार्यान्वयनमा लैजाने गरी काम गर्न वडा सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

बुटवलका १९ वटै वडाका सचिवहरूलाई सँगै राखेर नगर प्रमुख पाण्डेयले चालु आर्थिक वर्षका कुनै पनि योजना अर्को वर्षमा नसर्ने गरी काम गर्न र अघिल्लो आर्थिक वर्षका क्रमागत योजना सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
उहाँले योजना सम्झौता र कार्यान्वयनका लागि बनाइएको वार्षिक कार्ययोजना अनुसार काम सम्पन्न गर्न र ९० प्रतिशतभन्दा बढी पुँजीगत खर्च हुने गरी योजनाका काम गर्न निर्देशन दिनुभयो ।

वडाले प्रक्रियामा अघि बढाएका योजनाहरू कार्यान्वयनका लागि सहजीकरण गर्न र समयमै सम्पन्न हुने वातावरण तयार गर्न योजना शाखालाई नगर प्रमुख पाण्डेयले निर्देशन दिनुभयो । उहाँले वडाका हरेक काममा आर्थिक अनुशासन र पारदर्शिता अपनाउन तथा सेवाग्राहीमैत्री वातावरण बनाउन निर्देशन दिनुभयो ।

प्रमुख पाण्डेयले हरेक वडाले देशकै नमुनायोग्य र प्रभावकारी काम गर्नका लागि अघि बढ्न आग्रह गर्नुभयो । ‘एउटा वडाले पाँच वर्षमा कम्तीमा एउटा यस्तो काम गर्नुस् जसले देशमै नमूना होस्, कैयौँ वर्षसम्म बुटवलवासीले त्यसबाट लाभ लिने अवस्था सिर्जना गर्नुहोस्, जनप्रतिनिधि र कर्मचारीबिचको समन्वय र सहकार्यले मात्रै बुटवलको विकास सम्भव छ’–उहाँले भन्नुभयो ।

उहाँले बुटवलका १९ वटै वडाको समान विकास र समान हिसाबको मानवीय विकासको लागि काम गर्न वडासचिवहरुलाई आग्रह गर्नुभयो ।

उपप्रमुख सावित्रादेवी अर्यालले वडाहरूको समान विकासले मात्रै बुटवलको समग्र विकास झल्काउने भएकाले सोहीअनुसार काममा खटिन आग्रह गर्नुभयो । उहाँले वडास्तरबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउन र सेवाग्राहीलाई छिटो छरितो सेवा दिन आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले वडाबाट प्रवाह हुने सेवा र योजनाका कामलाई चुस्त र स्थानीय आवश्यकताका आधारमा अघि बढाउन निर्देशन दिनुभयो । राजस्व सङ्कलन र योजना कार्यान्वयनको पाटोलाई उत्तिकै महत्त्व दिएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button