तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारिता पृष्ठभूमिका नौजना प्रतिनिधिसभामा

काठमाडौं । पत्रकारिता पृष्ठभूमिका नौ जना राजनीतिक दलका नेताहरू सङ्घीय संसद्, प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

पत्रकारिता पृष्ठभूमिबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक, स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह, नेकपा एमालेबाट नेताहरू गोकुल बाँस्कोटा र सूर्य थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने, सोही पार्टीका नेत्री सोविता गौतम निर्वाचित हुनुभएको छ ।

वरिष्ठ नेता पौडेलले तनहुँ निर्वाचन क्षेत्र नं २ बाट २५ हजार तीन सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले १९ हजार नौ सय ८१ मत पाउनुभएको छ । वरिष्ठ नेता पौडेलले पञ्चायतकालमा ‘तरुण’ पत्रिकाको सम्पादक मण्डलमा बसेर काम गर्नुभएको थियो ।

त्यसैगरी महामन्त्री विश्वप्रकाश शर्माले झापा–१ बाट ३९ हजार ६ सय २४ मतसहित विजयी हुनुभएको छ । एमालेका अग्निप्रसाद खरेलले २५ हजार तीन सय ४९ मत पाउनुभएको छ । महामन्त्री शर्मा ‘ऐना’ कार्यक्रमको प्रस्तोता हुनुहुन्थ्यो ।

अर्का महामन्त्री थापाले काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट २१ हजार तीन सय दुई मत प्राप्त गरी विजयी हुनुभएको छ । एमालेका राजन भट्टराईले भने १३ हजार आठ सय ५५ मत पाउनुभएको छ । थापा इमेज एफएममा कार्यक्रम प्रस्तोता तथा समाचार वाचक हुनुहुन्थ्यो ।

कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले ३० हजार पाँच सय ७५ मत लिएर विजयी हुनुभएको छ । २०४८ सालमा ‘महाकाली’ साप्ताहिकका कार्यकारी सम्पादक भएर काम गर्नुभएका लेखकले एमालेकी नेत्री निरुदेवी पाललाई १० हजार मतान्तरले हराउनुभएको हो ।

स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह सर्लाही–४ बाट २० हजार १७ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको हो । गोरखापत्र दैनिकका पूर्वसञ्चालक समिति सदस्य सिंहका प्रतिस्पर्धी नेपाली कांग्रेसका नगेन्द्र कुमारले १८ हजार दुई सय ५३ मत प्राप्त गर्नुभएको हो ।

त्यसैगरी एमालेका नेता गोकुल बाँस्कोटा काभ्रेपलान्चोक–२ बाट ४५ हजार तीन सय ४५ मत ल्याएर विजयी हुनुभएको छ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले आफ्ना प्रतिस्पर्धी कांग्रेसका शिवप्रसाद हुमागाइँले ३९ हजार चार सय ८२ मत ल्याउनुभएको छ । नेता बाँस्कोटा ‘सम्बोधन’ साप्ताहिकको सम्पादक हुनुहुन्थ्यो । त्यसैगरी एमालेका सूर्य थापाले प्यूठानबाट ४१ हजार एक सय १८ मतसहित विजयी हुनुभएको छ । सोही क्षेत्रमा राष्ट्रिय जनमोर्चाका नेत्री दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गर्नुभएको छ । थापा ‘बुधबार’ साप्ताहिकको सम्पादक हुनुहुन्थ्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले चितवन–२ बाट ४९ हजार तीन सय मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेसका नेता उमेश श्रेष्ठले भने १४ हजार नौ सय ८८ मत ल्याउनुभएको छ । छामिछानेले न्यूज–२४ टेलिभिजनबाट प्रसारित ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो ।

त्यसैगरी पत्रकारिता पृष्ठभूमिका रास्वपाका नेत्री सोविता गौतम १५ हजार दुई सय ३८ मतसहित काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट विजयी हुनुभएको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता गौतमले सो क्षेत्रमा ११ हजार पाँच सय ६६ मत ल्याउनुभएका एमालेका मणिराम फुयाँललाई पराजित गर्नुभएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button