तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी–४ मा स्थगित भएको मतगणना सुचारु 

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा शनिबारदेखि  स्थगित भएको मतगणना आजदेखि सुचारु भएको छ । सुनसरीको इनरुवा स्थित भगवती माध्यमिक विद्यालयमा आज बिहान सर्वदलीय बैठक सकिएपछि मतगणना दिउँसोबाट सुचारु भएको हो । 

सुनसरी–४ बाट लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका  नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचनमा खटिएका कर्मचारीले नेकपा एमालेमा ६ सय ६ मत थपेपछि विवाद सिर्जना भएको बताउनुभयो । सुनसरी–४ का मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले कर्मचारीको गल्तीले नेकपा एमालेमा थपिएको ६ सय ६ मत हटाइएकोले कुनै विवाद नरहेको जानकारी दिनुभयो ।

मतगणना स्थगित भएपछि मन्त्री कार्कीले पुनः मतगणनाको माग गर्नुहुँदै निर्वाचन आयोगमा उजुरी दिनुभएको थियो । हिजो साँझ निर्वाचन आयोगले पुनः मतगणना नगरी यथास्थितिमा मतगणना सुचारु गर्न निर्देशन दिएको थियो । आज बसेको सर्वदलीय बैठकले धाँधलीरहित, शान्तिपूर्ण, निष्पक्ष र सिसिटिभी फुटेजको निगरानीमा मतगणना सुचारु गर्ने निर्णय गरेपछि मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा सुनसरीले जनाएको छ ।

सुनसरी४ बाट नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मन्त्री कार्कीले मतगणना सुचारु हुन्जेल २३ हजार ४ सय ३९ मत र नेकपा एमालेका तर्फबाट जगदीश प्रसाद कुसियैतले २३ हजार ३ सय ४१ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म ९८ मतले मन्त्री कार्कीले अग्रता लिनुभएको छ । सुनसरी(४ मा ३२ वटा वडा मध्ये २४ वडाको करिब ६० हजारभन्दा बढी गणना भैसकेको र अब ८ वडाको मतगणना गर्न बाकी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button