तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ सांसद आउँदै गर्दा गण्डकी प्रदेश सभा भवन सजावट गरिँदै

पोखरा । गण्डकी प्रदेश सभा भवनलाई सजावट गर्न थालिएको छ । नयाँ सांसद आउनुपूर्व रंगरोगनसहित गण्डकी प्रदेश सभा भवनलाई सजावट गर्न थालिएको हो । संसद् भवन मर्मत गरी रंगरोगन गर्नुका साथै सौन्दर्यीकरण गर्न थालिएको प्रदेश सभा सचिवालयले जनाएको छ । गण्डकी प्रदेश सभाको बाहिरी क्षेत्र समेत सरसफाइ गरी चिटिक्क पार्न थालिएको छ ।

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फ निर्वाचनको मतपरिणाम गण्डकी प्रदेशको स्याङजा जिल्लाको क्षेत्र नं. २ को क र ख बाहेक सबै आइसकेको छ । स्याङ्जा क्षेत्र नं. २ मा बुथ कब्जा भएको भन्दै बिरोध भएपछि मतगणना कार्य अझै सुचारु भएको छैन । यस क्षेत्रमा पुनः मतदान गर्ने कि गणना गर्ने भन्ने बारे आयोगले कुनै निर्णय लिन सकिरहेको छैन ।

१८ सङ्घीय निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा ३६ ओटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन् । ३६ निर्वाचन क्षेत्रमध्ये ३४ वटाको चुनावी परिणाम आइसकेको गण्डकी प्रदेशमा स्याङ्जाका २ क्षेत्रको गणना गरी सके पछि ‘प्रदेशमा प्रत्यक्ष तर्फको सबै नतिजा आउनेछ । समानुपातिक तर्फको पनि गणना चलिरहेको छ । 

गण्डकी प्रदेश सभामा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ १६ सिट जित्दा नेकपा एमालेले १२, माओवादी केन्द्रले ५ र १ सिट स्वतन्त्र सांसद दीपक मनाङेले जितेका छन् । २४ सिट समानुपातिक निर्वाचन प्रणालीबाट आउने छ । ३६ ओटा निर्वाचन क्षेत्र बाट आएका र समानुपातिक प्रणाली बाट आएका सांसदहरूलाई प्रदेश सभा भवनमा शपथ ग्रहण गराइने छ । सबै सांसदको शपथ ग्रहण पछि नयाँ सरकार गठनको प्रक्रिया अगाडी बढ्ने छ । 

समानुपातिक मतपरिणाम आइसकेपछि मात्र गण्डकी प्रदेश सभामा कति दलको सहभागिता रहन्छ भन्ने यकिन हुनेछ  । अहिले संसद् सचिवालयले संसदीय समिति र संसदीय दलका कार्यालय व्यवस्थापन गर्ने लगायतका कामहरू गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button