तपाईँ सुन्दै हुनुहुन्छः

वित्तीय शिक्षाले व्यावसायिक बन्दै दुर्गमका महिला

जुम्ला । कनकासुन्दरी गाउँपालिका ६ की विष्णुमाया बोहोरा २/३ वर्ष पहिले सम्म घरकै चुलो चौको र मेलापातमै सीमित हुनुहुन्थ्यो । घरायसी कार्यभार सबै उहाँकै काँधमा थुपारिन्थ्यो । घरको आर्थिक कारोबारमा उहाँको कुनै भूमिका हुँदैन थियो । कतै ऋण जोहो नगरी घरको नुन तेल देखि लुगाफाटो किन्न बोहोराको परिवारलाई मुस्किल हुन्थ्यो ।

तर गाउँकै हिमा महिला बहुउद्देश्यीय सहकारी संस्थाले वित्तीय शिक्षासँगै सहुलियत ऋण दिएपछि विष्णुमाया आजभोलि होटल सञ्चालन गरिरहनुभएको छ । रारा जाने पर्यटकलाई अर्ग्यानिक परिकार बेचेर मनग्य आम्दानी गर्दै हुनुहुन्छ ।

त्यस्तै कनकासुन्दरी ६ की बिमा खत्री पनि उद्यमशील बन्नुभएको छ । सहकारीले वित्तीय शिक्षासँगै व्यावसायिक बनाउन सहुलियत कर्जाको व्यवस्था गरिदिएपछि खत्रीले गाउँमै पोल्ट्री फर्म खोलेर व्यवसायीक कुखुरा पालन थाल्नुभएको छ ।

दुर्गम गाउँका बिमा खत्री, विष्णुमाया बोहोरा जस्ता विपन्न महिलाहरूलाई व्यवसायीक बनाउन आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपालले लगानी गरेको छ । क्याड नेपाल जुम्लाले सहकारीमा लगानी गरेपछि वित्तीय साक्षरताले व्यवसायमा लाग्न प्रेरित गरेको विष्णुमाया बोहोराको भनाई छ ।

महिला उद्यमी बिमा खत्रीले गाउँमा लोकल कुखुराको माग बढेकोले क्याडको सहयोगमा पोल्ट्री फर्म खोलेको बताउनुभयो । वित्तीय साक्षरतासँगै गाउँमा सहुलियत ऋण नपाएको भए मेलापातमै सीमित हुनुपर्ने स्मरण गर्दै खत्रीले आफ्नो व्यवसायीक जीवनका लागि क्याडको सहयोग कोसेढुंगा सावित भएको सुनाउनुभयो ।

प्लान नेपालको आर्थिक सहयोग तथा (क्याड) नेपालको साझेदारीमा सञ्चालित ‘बाल छिटो तथा जबरजस्ती विवाह न्युनिकरण परियोजना’ले कनकासुन्दरीको हिमा महिला बहुउद्देश्यीय सहकारी संस्थालाई १५ लाख लगानी गरेको छ ।

बालविवाह न्युनिकरण, महिला सशक्तीकरण, जीविकोपार्जन लगायतका क्षेत्रमा प्लान इन्टरनेश्नल नेपालको सहयोगमा क्याडले २०१८ सालदेखि सिञ्जाका ३ पालिकामा काम गरिरहेको क्याड नेपाल जुम्लाका कार्यक्रम अधिकृत गिरीराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button