तपाईँ सुन्दै हुनुहुन्छः

थापाथलीको बस्ती हटाउन खोजेपछि सुकुम्वासीको विरोध

काठमाडौँ । काठमाडौँ महानगरले थापाथलीस्थित बागमती किनारको सुकुम्वासी बस्ती हटाउन खोजेको भन्दै सो क्षेत्रमा बसोबार गर्ने नागरिकले विरोध गरेका छन् । बस्ती हटाउनका लागि आज दिउँसो काठमाडौँ महानगरको नगर प्रहरी र डोजर पुगेको थियो । महानगर प्रहरी र सुकुम्वासीबीच मुठभेड हुँदा साढे चार घण्टासम्म थापाथली परिसर असान्त बन्न पुगेको थियो ।

बस्ती हटाउने सूचना पाएपछि सुकुम्वासी विरोधमा उत्रिएका थिए । उनीहरूले महानगर प्रमुख बालेन साहविरुद्ध नारा लगाएका थिए । बस्ती परिसरका सडकमा टाएर बाल्दै उनीहरू ढुङ्गामुढामा उत्रिएका थिए ।

‘यसरी जबरजस्ती उठिबास लगाउन खोज्ने ? हामी सधैँ डोजर आतङ्कमा बस्न चाहादैनौँ । हाम्रो रहर हैन । विकल्पसहित महानगर आउँछ भने हामी छोड्न तयार छौँ’, लामो समयदेखि यही बस्दै आएकी स्मीता आचार्यले भन्नुभयो, ‘मेयर साहसँग हामीले पटकपटक वार्ता गर्न चाहेका थियौँ । तर उहाँले समय दिनुभएन । आज यसरी जबरजस्ती सुरक्षा बल प्रयोग भयो ।’

केही बासिन्दाहरू विरोधमा उत्रिरहँदा केही भने घरबाट सामान निकाल्न व्यस्त थिए । यही बस्तीमा १७ वर्षदेखि बस्दै आउनुभएको ६५ वर्षीय रत्नबहादुर श्रेष्ठ घरभित्रका सामान बाहिर ओसार्न व्यस्त हुनुहुन्थ्यो । ‘म काममा थिएँ । यहाँ डोजर आएको थाहा पाउने बित्तिकै घर आएँ । सामान त निकाल्न पर्‍यो नि । स्कुले नातीलाई पनि बस्ती हटाउनका लागि छिटो बिदा दिएछन् ।’

पुरानो ठेगाना सर्लाही भए पनि त्यहाँ आफ्नो जग्गा जमिन नभएको बताउने उहाँले भोट माग्न आउने नेता र स्थानीय नेताको प्रतिज्ञाले निराश मात्र बनाएको आक्रोश पोख्नुभयो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानान्धरले एकीकृत बागमती सभ्यता विकास समितिलाई सहयोग गरेको बताउनुभयो, ‘बागमती सफा र स्वच्छ राख्ने अभियानका लागि सुकुम्वासी बस्ती हटाउने भनेपछि महानगरले सहयोग गरिरहेको छ’, उहाँले भन्नुभयो ।

उहाँले समितिले ४ गते मङ्सिरसम्मको अवधि दिए पनि बासिन्दाले अटेर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरूलाई बस्ती हटाउन १० दिनसम्म म्याद दिएका थियौँ । अटेर गरेपछि आज गएका हौँ । यद्यपि आज बस्ती हटाउन सक्ने अवस्था छैन ।’

यस सुकुम्वासी बस्तीमा एक सय ३६ घर रहेको छन् । केहीबेर बासिन्दा र नगर प्रहरीबीच सामान्य मुठभेड भएको थियो । बस्ती तनावग्रस्त बनेपछि नगर प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खटाइएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button