तपाईँ सुन्दै हुनुहुन्छः

त्याग र सर्मपनको नृत्य भैरव नाच पोखरामा प्रदर्शन हुने 

कास्की । भय र दण्डका देवताको रुपमा हिन्दु र बौद्ध संस्कृतिमा पूजा गरिने भैरवको नाच पोखरामा प्रदर्शन हुने भएको छ । 

प्रत्येक ६ वर्षमा निकालिने भैरव नृत्य शान्तिको कामना तथा अनिष्ठबाट बच्न यो नृत्य निकालिने गरिन्छ । 

पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृति मध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ÷छ वर्षमा गरिँदै आएको यो नृत्य अहिले पोखरामा प्रदर्शनको तयारी गरिएको छ ।

यो नृत्य मङ्सिर १५ सुरु हुने र चैत मसान्तसम्म सञ्चालन हुने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका अध्यक्ष तीर्थमान प्रधानाङ्गले बताउनुभयो । तान्त्रिक  विधिबाट पूजा गरिने भैरवका विभिन्न रूप छन् ।

भैरवको पूजाबाट सबै किसिमका भयसँगै दुःख कष्ट निवारण हुने जनविश्वास रहेको अध्यक्ष प्रधानाङ्ग बताउनुभयो । नेवारी संस्कृतिमा भैरव नृत्यको प्राचीन परम्परा छ । 

पोखरामा पनि भैरव नृत्यको साढे दुई शताब्दीभन्दा पुरानो इतिहास रहेको बताउँदै उहाँले भन्नुभयो, “पोखरामा यो नृत्य २५० वर्षभन्दा अघिदेखि यहाँको नेवार समुदायको तत्वावधानमा सुरु भएको हो । यो नृत्य प्रत्येक १२ वर्षको अन्तरालमा गरिँदै आइएकोमा २००६ सालदेखि प्रत्येक छ वर्षको अन्तरालमा गरिँदै आइएको छ ।”

यसमा भैरव, काली, इन्द्रायणी, बराह, कुमारी, विष्णुवी, गङगाजु, गणेश, दागिनी, भूच्या र कबाङ गरी १२ पात्रको मुखुण्डो लगाएर नाचिने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका सल्लाहकार एवं संस्कृतिविद् तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका  अनुसार यो नृत्य शास्त्रीय भजनमा आधारित हुन्छ । राग कौशिक, राग छयाँनट, राग मालवा, राग सारङ्गा, राग तोडी, राग मालश्रीलगायतका राग तथा खरजति ताल, चोक ताल, एक ताल, दोमा तालमा आधारित नेवारी भाषाका भजन गायनमा आधारित भएर नर्तकहरू नृत्य गर्ने गर्दछन् ।

ठूलो सङ्ख्यामा कलाकार चाहिने यो नृत्य एक पटकमा सञ्चालन गर्न लगभग ८० हजार रुपैयाँको लागत लाग्ने गुरु कृष्णदेव प्रधानाङ्गले बताउनुभयो । 

नृत्यमा उपयोग गरिने मुखुण्डोलाई तन्त्रोक्त विधिबाट साक्षात् शक्तिको जागरण गराईने हुनाले यसलाई तन्त्रमा आधारित मान्ने गरिन्छ । 

यो नृत्य प्रदर्शन गर्न करिब दुई महिना लामो नृत्य, वाद्यवादन र गायन प्रशिक्षण हुने गर्दछ । 

यसवर्ष प्रशिक्षणमा करिब तीन सय ५० भन्दा बढी कलाकार सहभागी हुने भएको र वाद्यवादनमा २० जना र गायनमा २० जना सहभागी हुने अध्यक्ष प्रधानाङ्गले जानकारी दिनुभयो ।

नृत्य अत्यन्त खर्चिलो भए पनि आवश्यक पर्ने वस्त्र भूषण विभिन्न दाता महानुभावबाट प्राप्त भएको सचिव सुरेन्द्रमान विजुक्क्षेले जानकारी दिनुभयो । 

यही मङ्सिर १५ गतेदेखि प्रदर्शन गर्ने तयारी भएको यस नृत्यको पहिलो दिनमा नाटेश्वरको सम्मान स्वरूप भीमसेन मन्दिर भीमसेन टोलमा प्रदर्शन गरिने योजना छ । 

यो नृत्य १६ गते गणेश मन्दिर गणेश टोल, १७ गते सरस्वती मन्दिर तेर्सापट्टी, १८ गते विन्ध्यवासिनी मन्दिर, १९ गते गणेश मन्दिर भैरव टोल, २२ गते गुरु कृष्णदेव प्रधानाङ्गको निवास्थान भैरव टोल प्रदर्शन गरिने जनाइएको छ ।

नृत्यलाई विभिन्न व्यक्ति तथा संस्थाले आमन्त्रण गर्ने प्रचलन रहेको र माग अनुसार विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी गरिएको पोखरा भैरव मन्दिरका पुजारी बसन्त ताम्राकारले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button