तपाईँ सुन्दै हुनुहुन्छः

एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनका लागि बोलपत्र आह्वान

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । 

एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो ।

एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा एक सय १७ किलोमिटर लामो प्रसारण लाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

त्यस्तै, रातमाटे/दमौली ९० किलोमिटर लामो चार सय केभी र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइनसमेत यसैमा समेटिएको छ ।

आज सार्वजनिक भएको सूचनाअनुसार आगामी चैत १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ । 

नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको छ ।

एमसिसीले कूल ५० करोड डलर र नेपाल सरकारका तर्फबाट १३ करोड डलर सो परियोजनाका लागि उपलब्ध हुनेछ । 

आयोजना निर्माण आगामी अगस्टदेखि गणना हुने गरी पाँच वर्षे अवधि प्रारम्भ हुनेछ । एमसिसीले पाँच वर्षे अवधिमा सम्पन्न गर्ने गरी परियोजना अगाडि बढाउन लागिएको छ ।

लामो रस्साकस्सीपछि गत फागुनमा नेपाल सरकार र एमसिसीबीच भएको सम्झौता सङ्घीय संसद्ले अनुमोदन गरेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button