तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी–४ मा पुनः मतगणना गर्न काँग्रेसको माग

इनरुवा । सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । 

यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणना हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । 

हिजो मतगणनाका क्रममा आयोगले नै छ सय छ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको छ । त्यसपछि विवाद उत्पन्न भएको र अपराह्न सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा सर्वदलीय सहमति हुन नसकेपछि साँझदेखि नै मतगणना स्थगित हुन पुगेको थियो । 

लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कार्कीले एमाले पक्षले मतगणनामा धाँधली गरेको र आयोगकै मिलेमतोमा छ सय छ मत एमाले उम्मेदवारका पक्षमा जोडेको बताउनुभएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका कार्कीले सो आरोप लगाउँदै सुरुदेखि नै पुनः मतगणना गर्न माग राख्नुभएको छ । उहाँले आयोगकै मिलेमतोमा मत हिनामिना भएको सूचना आफूले पाएको बताउनुभयो । आज बिहान पनि सर्वदलीय बैठक बसेको छ तर कांग्रेसका कार्यकर्ताले पुनः मतगणना गर्नुपर्ने माग दोहोर्‍याएपछि अहिलेसम्म गणना स्थगित छ । 

उम्मेदवार कार्कीले २३ हजार चार सय ३९ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार तीन सय ४१ मत पाउनुभएको छ । कार्की कुसियतभन्दा ९८ मत अगाडि हुनुहुन्छ । यस क्षेत्रमा जम्मा ८१ हजार दुई सय ३३ मत खसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button