तपाईँ सुन्दै हुनुहुन्छः

पराजित चर्चित नेताहरू

काठमाडौँ। आमनिर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी रहँदा केही चर्चित उम्मेदवारले हारको सामना गर्नुपरेको छ। काठमाडौँको तीनवटा निर्वाचन क्षेत्रको परिणाम आउँदा रवीन्द्र मिश्र, डा. राजन भट्टराई, रमेश खरेल, मिलन पाण्डे र पुकार बमले हार बेहोरेका छन्। मिश्र, भट्टराई र पाण्डे आमनिर्वाचन २०७४ मा समेत चर्चित हुनुहुन्थ्यो। खरेल भने आफैँ दल दर्ता गरी पहिलो पटक निर्वाचनमा स्पर्धा गर्नुभएको थियो।

निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित हुनुभएको छ। वरिष्ठ उपाध्यक्ष पोखरेल यसअघि २०७४ को आमनिर्वाचनमा काठमाडौँ–५ बाटै निर्वाचित हुनुभएको थियो। सो निर्वाचनमा उहाँले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई पराजित गर्नुभएको थियो।

काठमाडौँ–४ मा नेकपा (एमाले)का राजन भट्टराईले १३ हजार ८५५ मत ल्याउनुभएको छ। उहाँलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २१ हजार ३०२ मत ल्याएर पराजित गर्नुभएको हो। आमनिर्वाचन २०७४ को अपेक्षा भट्टराईले करिब चार हजारभन्दा बढी मत गुमाउनुभयो। उहाँले यसअघिको निर्वाचनमा १८ हजार १४० मत पाउनुभएको थियो। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भट्टराई परराष्ट्र सल्लाहकारको भूमिकामा लामो समय रहनुभयो।

काठमाडौँ–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएका रवीन्द्र मिश्र लगातार दोस्रो पटक नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहसँग पराजित हुनुभएको छ। उहाँले आमनिर्वाचन २०७४ मा विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिनुभएको थियो। उक्त निर्वाचनमा ८१८ मतले पराजित हुनुभएका मिश्रले यस पटक मात्र १२५ मतले हारको सामना गर्नुपरेको हो।

विवेकशील साझा पार्टीले स्थानीय निर्वाचन २०७९ मा अपेक्षाकृत परिणाम दिन नसकेपछि मिश्रले दलसँगै विचारसमेत परिवर्तन गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध हुनुभयो। उहाँलाई काठमाडौँ–१ का मतदाताले जनप्रतिनिधिका रूपमा पुनः अस्वीकार गरेका हुन्।

सोही क्षेत्रबाट नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलसमेत उम्मेदवार हुनुहुन्थ्यो। उहाँले दुई हजार १३० मत प्राप्त गर्नुभएको छ।

अर्का चर्चित युवा मिलन पाण्डेले समेत लगातार दोस्रो पटक हार बेहोर्नुभएको छ। विवेकशील साझाका पाण्डे काठमाडौँ–९ बाट उम्मेदवार हुनुहुन्थ्यो। उहाँलाई नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठले पराजित गर्नुभएको हो।

काठमाडौँ–९ बाट २०७४ को निर्वाचनमा तेस्रो सर्वाधिक मत पाउनुभएका पाण्डेले आमनिर्वाचन २०७९ मा पाँचौँ स्थानमा पुग्नुभयो। उहाँले दुई हजार ३२७ मत पाउनुभएको छ। अघिल्लो निर्वाचनमा उहाँले चार हजार ९४६ मत पाउनुभएको थियो।

काठमाडौँ–९ मा ११ हजार ९५६ मत ल्याएर निर्वाचित श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गर्नुभएको छ। पोखरेलले दस हजार ९६१ मत ल्याउनुभयो। निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदै नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टीका थुप्रै चर्चित नेता मतगणनामा पछाडि परेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button