तपाईँ सुन्दै हुनुहुन्छः

अभिनयको कालिञ्चोक–श्रीअन्तु पैदल यात्रा 

चिरञ्जीवी मास्के। मोटिभेसन फ्रम द सिचोएसन अर्थात् परिस्थितिबाटै प्रेरणा अभियान अन्तर्गत पहिलो मेची महाकाली पैदल यात्रा र दोस्रो देशको ७७ जिल्लामा एक सय दिनको साइकल यात्रा सम्पन्न गरेका दोलखाका अभिनय कार्कीले तेस्रो अभियानको क्रममा मङ्गलवार दोलखाको कालिञ्चोकबाट इलामको श्रीअन्तुसम्मको पैदलयात्रा सुरु गरेका छन् । 

दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिरमा पूजा आराधना सहित यात्रा सुरु गरेका अभिनयले बुधवार दोलखाकै प्रसिद्ध भीमेश्वर मन्दिरको दर्शन गरेर सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, सुनसरी हुँदै आफ्नो यात्रा पहिलो सूर्य उदय हुने इलामको श्रीअन्तु तिर अगाडि बढाउने बताएका छन् ।

झण्डै एक महिनाको अवधिमा यात्रा सम्पन्न गर्ने लक्ष्य लिएका कार्कीले यात्राको क्रममा विभिन्न मठमन्दिरको बारमा जानकारी लिने, ग्रामीण परिवेशको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन जस्ता विषयमा जानकारी तथा भ्लग भिडियो मार्फत त्यसको प्रचार प्रसार समेत गर्ने लक्ष्य रहेको बताएका छन् । 

अभिनय कार्कीले २०७८ सालमा फ्रष्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौँ, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरू एकजुट बनौँ’ भन्ने नारा सहित सुरु गरेको १०० दिने साइकल यात्राको क्रममा जिल्लाको सदरमुकाम पुगेर सदरमुकाममा विद्यार्थी, बुद्धिजीवी लगायतसँग लागू औषध सम्बन्धी जनचेतना मूलक अन्तर्क्रिया गरेका थिए ।

आजको योगदान पर्यटनको प्रवद्र्धन भन्ने नारा सहित यो पटकको यात्रा सुरु गरेका अभिनयले दोलखाको सांस्कृतिक, धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थलहरूको बारेमा अन्यत्र प्रचार– प्रसार गर्ने, पैदल यात्राको क्रममा पुगिने धार्मिक, एवं प्राकृतिक स्थल र गाँउहरुको परिवेश बारे अर्को ठाउँमा प्रचारप्रसार गर्ने लक्ष्य लिएको बताएका छन् । 

यात्राको क्रममा आफु गाउँ–घरमै सथानीयसंग बस्ने र हुनीहरूसँगै छलफल गरी आवश्यक सूचना लिने उद्देश्य रहेकोले बास बस्नुपर्ने ठाउँमा स्थानीयको सहयोग हुने अपेक्षा आफूले लिएको अभिनयको भनाई छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button