तपाईँ सुन्दै हुनुहुन्छः

हिमाको रिखिदेउ गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नंं २ स्थित दुर्गम रिखिदेउ गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी सञ्चालनमा ल्याइएको छ । एक वडा एक सामुदायिक स्वास्थ्य इकाईको अवधारणा अनुसार हिमाले रिखिदेउ गाउँमा स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको हो । 

सोमबार उक्त स्वास्थ्य इकाईको उद्घाटन हिमाका अध्यक्ष लक्ष्मण शाहीले गर्नु भएको छ । दुर्गम गाउँमा स्वास्थ्य सेवाको सुनिश्चितता र स्थानीय सरकारको अनुभूति गराउन गाउँमै सेवा विस्तार गर्न गरेका छौ । उद्घाटनको क्रममा अध्यक्ष शाहीले भन्नुभयो,“हिमाका ७ वडा मध्य ६ वटै वडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना भइसकेका छन् । अब ७ नम्बर वडामा मात्रै बाँकी छ । चाडै स्थापना गरिने छ । रिखिदेउका नागरिकले गाउँमै सहजै प्राथमिक उपचार पाउने आशा छ ।”

३९ घरधुरी रहेको रिखिदेउ गाउँका सयौँ नागरिकले गाउँमै प्राथमिक उपचार पाउने भएपछि खुसी भएका छन् । पहिला सामान्य उपचार गराउन,टाउको दुखे सिटामोलका लागि समेत टाढा जानु पर्ने बाध्यताबाट रिखिदेउका नागरिक मुक्त भएका छन् । 

प्रत्येक सामुदायिक स्वास्थ्य इकाईमा एक जना अनमी र कार्यालय सहितको जनशक्ति खटाइएको छ । पालिकाले स्वास्थ्य सेवा विस्तार पूर्वाधार निर्माणका लागि बजेटमा प्राथमिकता दिएकोले सबै सामुदायिक स्वास्थ्य इकाईलाई सुविधा सम्पन्न बनाइने अध्यक्ष लक्ष्मण शाहीको भनाई छ ।   

यस अघिनै हिमा गाउँपालिकाले पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गराउने नीति पास गरिसकेको छ । विपन्न नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन गरिएको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमले राहत पुर्‍याएको छ । 

पूर्वाधार विकास, सेवा प्रवाह, जनमैत्री काममा जिल्लाकै नमुना बन्दै गएको हिमाले सङ्घीयता कार्यान्वयन र स्थानीय सरकारको महसुस गराउने खालका काममा अग्रसर भएको छ । जनताको दैलोको सरकारका रुपमा रहेको स्थानीय तह प्रति नागरिकको असीमित चाहाना छन् । तर सीमित स्रोतका बीच पनि स्थानीय सरकार स्थापनापछि उल्लेखीय विकास भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button