तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीका मतदाताहरूमा उत्साह

सर्लाही। सर्लाहीमा मतदाताहरूमा उत्साह छाएको छ । प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत आज सर्लाहीमा शान्तिपूर्ण रूपले मतदान भइरहेको  छ । सर्लाहीको निर्वाचन क्षेत्र १ चन्द्रनगर गाउँपालिका वडा नं. २ बबरगंज स्थित दुर्गा खोभारी जनता माविमा रहेको मतदान केन्द्रमा आउने मतदाताहरूमा उत्साह छाएको छ । मतदाता बिक्रम दासले आफूले मन पराएको उम्मेदवार रोज्न मतदान गर्न उत्साहित भएर नै मतदान गर्न आएको बताउनुभयो । यतिबेला मतदाताहरू लाइनमा बसेर पालो अनुसार मतदान गरिरहनु भएको छ भने ज्येष्ठ नागरिक अपाङ्गता भएको व्यक्तिहरू लाइन नबसीकनै मतदान गरिरहनु भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेका अनुसार जिल्लाभरि मतदाताहरूमा उत्साह छाएको छ, हरेक मतदान केन्द्रहरूमा मतदाताको भिड लागेको उहाँले बताउनुभयो ।

सर्लाहीमा ३ सय १२ मतदान स्थलहरूमा ६ सय मतदान केन्द्र र ३ स्थायी मतदान केन्द्र गरी ६ सय ३ मतदान केन्द्रहरूमा शान्तिपूर्ण मतदान कार्य भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button