तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा मतदानका लागि तयारी पूरा, मतदानस्थल सुरक्षा निगरानीमा

धनगढी । भोलि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कैलाली जिल्लामा मतदान केन्द्र निमार्ण लगायत मतदानका लागि आवश्यक तयारी लगभग पूरा भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै मतदानस्थलमा मतदान केन्द्र निर्माण लगायतका व्यवस्थापकीय कार्य लगभग पुरा भएको छ । सम्पूर्ण निर्वाचन सामाग्री सहित कर्मचारीको टोली मतदानस्थल क्षेत्रमा रहेको छ ।
मतदानस्थलको अवस्था हेरी एउटा मतदान केन्द्रमा एक हजार बढी मतदाताले मतदान गर्न सक्ने व्यवस्थापन गरिएको छ भने प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत सहित ८ जना कर्मचारी र कम्तीमा ३ जना स्वयम् सेवक खटाइएको छ ।
कैलालीमा ५ हजार ७२ जना कर्मचारी र २ हजार ५१६ स्वयंसेवक निर्वाचनमा खटिएको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताउनुभयो । कैलालीमा २ सय ३७ मतदानस्थल र ६ सय २९ मतदान केन्द्र रहेका छन् । यस्तै ८ वटा अस्थायी मतदानस्थल तोकिएको छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले सम्पूर्ण मतदानस्थलमा सुरक्षा निगरानी बढाइएको र निर्वाचन सुरक्षाका लागि (यथेष्ट) नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको बताउनुभयो ।
जिल्लामा चार दर्जनभन्दा बढी मतदानस्थल अति संवेदनशील रहेको उल्लेख गर्दै उहाँले मतदानस्थलको संवदेनशिलता हेरी सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button