तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा विवाह पञ्चमी महामहोत्सवको तयारी शुरु

जनकपुरधाम । प्रत्येक वर्ष मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिका दिन जनकपुरधाममा भव्य रुपमा मनाइने श्री सीताराम विवाह पञ्चमी महोत्सवको तयारी शुरु भएको छ । प्राचीन मिथिलाका राजधानी जनकपुरधाममा विवाह पञ्चमी महोत्सवलाई मनाउँदै आइएको छ ।

त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र जगत जननी माता जानकीसँग शुभ विवाहको स्मरणमा अगामी मङ्सिर ७ गतेदेखि सप्ताहव्यापी रुपमा रामजानकी विवाह पञ्चमी महोत्सव मनाउने तयारी सुरु भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिनुभयो ।

महोत्सवमा भारतबाट जन्ती निम्त्याउने कार्य भइरहेको सहायक महन्थ दासले बताउनुभयो । शौचालय, खानेपानी र सरसफाइका लागि स्थानीय सरकारसँग छलफल जारी रहेको उहाँले बताउनुभयो । सुरक्षा र सवारी व्यवस्थापनका लागि सुरक्षा निकायलाई आग्रह गरिएको पनि उत्तराधिकारी महन्थ दासले जानकारी दिनुभयो ।

मिथिलामा मनाइने विभिन्न चाडपर्व र उत्सवमध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रूपमा मनाउँदै आएको छ । विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन मङ्सिर ७ गते नगर दर्शन, दोस्रो दिन ८ गते फूलबारी लीला, तेस्रो दिन ९ गते धनुष यज्ञ, चौथो दिन १० गते तिलकोत्सव, पाँचौँ दिन मङ्सिर ११ गते मटकोर, छैंठौं दिन मङ्सिर १२ गते स्वयंवर तथा रात्रि विवाह उत्सव र सातौँ तथा अन्तिम दिन मङ्सिर १३ गते राम कलेवा गरी यस वर्षको सीताराम विवाह पञ्चमी सम्पन्न हुँदै छ ।

हिन्दुहरूको आस्थासित जोडिएको भगवान् सीताराम विवाह महोत्सवको प्रमुख अतिथि यस पटक भारत उत्तराखण्डका पर्यटन मन्त्री सतपाल सिंह रावत ‘सतपाल महाराज’ रहने महन्थ दासले बताउनुभयो । विवाह पञ्चमी महोत्सवमा सहभागी हुन सन्त सतपाल महाराज मङ्सिर १२ गते जनकपुरधाम आउन लाग्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button