तपाईँ सुन्दै हुनुहुन्छः

स्वच्छ निर्वाचनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : प्रमुख निर्वाचन आयुक्त थपलिया (फोटोफिचर)

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आमसञ्चार माध्यमले आम नागरिक र निर्वाचन आयोगबीच सम्बन्ध स्थापित गर्ने गरी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । 

रेडियो नेपालमा आज आयोजित “प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन  र मिडिया कभरेज” सम्बन्धी ३ दिने तालिमको शुभारम्भ गर्दै प्रमुख आयुक्त थपलियाले आम नागरिक, राजनीतिक दल, उम्मेदवारलाई सही सूचना सम्प्रेषण गरी मिडियाले आफ्नो भूमिकालाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । 

उहाँले निर्वाचनको शुद्धताले शासन स्वच्छ हुने भएकोले दल, उम्मेदवार, मतदाता र सञ्चार माध्यमहरूले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले यो निर्वाचनले राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गर्नुहुँदै आचारसंहिता पालना गरेर दल तथा उम्मेदवारले असल राजनीतिक संस्कार देखाइरहेको समेत बताउनुभयो । 

उहाँले समाचार लेख्दा सत्यतथ्यमा आधारित भएर सबै उम्मेदवारलाई समान स्थान दिनुका साथै विविधतालाई एकतामा आबद्ध गर्ने काम मिडियाको भएको पनि बताउनुभयो । 

प्रमुख आयुक्त थपलियाले रेडियो नेपाल विश्वासिलो र आधिकारिक सञ्चारमाध्यम भएकोले अझै व्यावसायिक कुशलता प्रदर्शन गर्दै निर्वाचनका गतिविधिलाई प्रष्ट रुपमा नागरिकसामु लानुपर्नेमा जोड दिनुभयो । 

प्रमुख आयुक्त थपलियाले रेडियो नेपाल सबै रेडियोको पाठशाला भएको भन्नुहुँदै समाचारमा समावेशी, लैगिंकमैत्री र पहुँचयोग्य बनाउनुपर्ने बताउनुभयो । 

रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सञ्चारकर्मीहरू निर्वाचन आयोगका दूत भएकाले आचारसंहिता पालना गर्ने र गराउने दायित्व बोकी समाचार सम्प्रेषणमा ध्यान दिनुपर्ने बताउनुभयो । 

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी नागरिकमा सत्य तथ्य सूचना सम्प्रेषण गरिरहेको जानकारी दिनुभयो । 

आजदेखि सुरु भएको तालिममा रेडियो नेपालका देशभरका संवाददाता भौतिक र भर्चुअल रुपमा तालिममा सहभागी भएका हुन । 

तालिम निर्वाचन कानुन र आचारसंहिता, निर्वाचन कभरेजको अन्तर्राष्ट्रिय अभ्यास, निर्वाचनमा रेडियो नेपालको विद्यमान प्राविधिक क्षमता, कभरेजमा ध्यान दिनुपर्ने विषयहरू, रिपोर्टिङका समस्या र समाधान लगायतका विषयमा केन्द्रित रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button