तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनका लागि आयोग सम्पूर्ण रुपमा तयार छ : प्रमुख निर्वाचन आयुक्त थपलिया 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग रेडियो नेपालको बिहानी कार्यक्रम अन्तर्संवाद कार्यक्रमका लागि सम्वाददाता प्रविण पोखरेलले २०७७ कात्तिक १७ गते लिएको अन्तर्वार्ताको सारसंक्षेप:

मङ्सिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगको तयारी के कस्ता छन् ?
निर्वाचनको दिन आउन १७ दिन बाँकी छ । दलहरूलाई प्रचारप्रसार गर्न जम्मा १५ दिन मात्रै हो । निर्वाचनका लागि चाहिने सबै व्यवस्थापकीय कार्यहरू लगभग  अन्तिम चरणमा पुर्‍याएका छौ । १ सय ६५ क्षेत्रमा सबै सामग्रीहरु पठाइसकिएको छ । कर्मचारीहरूको व्यवस्थापनका निम्ति आन्तरिक तयारी, आवश्यक पर्ने बजेट तथा अन्य स्रोत साधनहरू सबै मतदान स्थल तथा मतदान केन्द्रहरूको सुरक्षा अवस्थाको मिहिन ढंगले विश्लेषण गरेर आवश्यक सुरक्षा व्यवस्थाको आन्तरिक तयारी गरिरहेका छौ । बाढी पहिरोले कर्णाली र सुदूरपश्चिम क्षेत्रमा सडक यातायातका कारणले आवागमन  कठिनाइ भएको छ । सम्बन्धित निकायलाई अनुरोध गरिसकेका छौ । त्यस्ता ठाउँमा मतपत्र पठाउन बाँकी छ । समग्रमा आयोगको निर्वाचन तयारी तोकिएअनुसार नै भइरहेका छन् र हुन्छन् । 

आजदेखि राजनीतिक दल तथा उम्मेदवारले १५ दिनसम्म प्रचारप्रसार गर्न पाउँछन् । यो अवधिमा दल तथा उम्मेदवारले ध्यान पुर्‍याउनुपर्ने विषय के–के हुन् ? 
यो महत्त्वपूर्ण विषय हो । राजनीतिक दल तथा उम्मेदवारको गतिविधि हेरेर निर्वाचन आयोग र अन्तर्गत निकायले आचारसंहिता पालनामा ध्यान दिनुपर्छ । आयोगको एकमात्रै अनुरोध के छ भने तपाईँहरू आफैले बनाएको आचारसंहिता, तपाईँहरूले बनाएको निर्वाचन कानून तपाईँहरू आफै स्वमूल्याङ्कन गर्नुहोस्, स्वअनुगमन गर्नुहोस् र कुनै पनि तरिकाबाट  प्रश्न उठाउने अवस्था सृजना नगर्नुहोस्  भनेर हामीले भनेका छाँै ।  

मैले संक्षेपमा यसमा के मात्र स्पष्ट गर्न चाहन्छु भने अब स्थानीय प्रशासनसँग सहमति लिएर कुन ठाउँमा कहिले कसरी कस्तो आमसभा, भेला ,कोणसभा गर्ने हो भन्ने कुरा तदअनुसार गर्नुहोस् । दुई वा दुई भन्दा बढी दलहरुबीच हुने कार्यक्रममा एकले अर्कोलाई जुधाउने, बाँधा व्यवधान गर्ने कार्य नगर्नुहोस्, यो पटक चुनावलाई अनावश्यक भड्किलो, खर्चिलो बन्न नदिऊ,  कुनै पनि सामग्री बाहिरी देशमा बन्ने भएकाले निर्वाचन चिह्न अङ्कित लोगो, स्टिकर, ज्याकेट, टिसर्ट, मास्क, लकेट झोला केही पनि बोक्न सकिँदैन भनेर भनेका छौ । त्यसमा हेक्का राखिदिनुहोस् । सँगसँगै यो निर्वाचनमा सिद्धान्त, विचार  र निष्ठा गर्ने हो, कुनै झण्डा र चिह्न तडक भडक गर्ने होइन त्यस कारण हरेक आमसभामा बढीमा १० वटा भन्दा बढी झण्डा प्रयोग नगर्नुहोस् । 

अर्को महत्त्वपूर्ण कुरा, कसैको निजी घरमा बाटोमा, सार्वजनिक ठाउँमा, बिजुलीका पोलमा, कुनै पनि दल उम्मेदवारको झण्डा र चिन्ह नराख्नुहोस् । यदि राखिएको पाइएमा जुन दलको झण्डा वा चिन्ह राखिएको छ, त्यही दलको उम्मेदवारलाई हामी सिधै स्पष्टीकरण सोधेर कारबाही अगाडि बढाउने गरी स्थानीय तहलाई जिम्मेवारी दिइसकेका छौँ । कुनै पनि सवारी साधनमा त्यस्ता दलका झण्डा र चिन्ह नराख्नुहोस् । हामी राजनीतिक दलहरू, उम्मेदवारहरू साँच्चै नै समाजसेवी छौ । कसैको दुःखप्रति एकदम हुरुक्कै छौ, यसमा कुनै शङ्का छैन । तर त्यो हुरुक्क हुने नाममा कुनै क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संघ संस्था, यस्ता संस्था वा व्यक्तिलाई कुनै पनि जिन्सी, नगद आर्थिक सहायताको घोषणा नगर्नुहोस्,  निर्वाचन सकिएको दुई महिनापछि मजाले जे दिनुहुन्छ दिनुहोस् । यस्तै सवारी साधनको प्रयोग गर्ने पनि आफ्नै नियम छन् । आफ्नो परिचय पत्र सहित साइज पनि तोकिएको छ प्रचार, घोषणापत्रका मुख्य मुख्य कुराहरू लिएर जान सक्नु हुन्छ । हामीले आफ्नो परिचय छाप्ने व्यवस्था गर्‍यौ तर यो तिहारमा यस्ता यस्ता कार्ड छापेर वितरण भए भनेर हामीलाई उजुरी पर्‍यो । जीवनमा कहिल्यै कार्ड छापेर शुभकामना नदिने व्यक्तित्वहरूले पनि निकै राम्रै खर्च गरेर उहाँको सुस्वास्थ्य दीर्घायुको कामनासहित हुरुक्कै भएजस्तो गर्नुभएछ । त्यसलाई हामीले निर्वाचन खर्चभित्र राख्नुहोस् भन्यौ किनभने त्यसलाई प्रष्ट लेखिएको थिएन । त्यस कारण निर्वाचनको स्वच्छता सबैको जरुरीको विषय हो । यस्ता तोकिएका विषयलाई अत्यन्तै महत्त्वपूर्ण विषयका रुपमा हेर्नुहोस् भनेर भनेका छौ । कुनै पनि बाजागाजा झाँकी प्रदर्शन गर्न सकिँदैन । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म तपाईँले आफ्नो प्रचारप्रसार गर्न सक्नुहुन्छ । छोटकरीमा भन्ने हो भने अत्यन्तै शालीन, विनम्रतापूर्वक, आम मतदातासमक्ष पुगेर मत मागेर विजयी हुनोस्, सबैलाई मेरो शुभकामना छ । जसले बढी मत ल्याउनुहुन्छ उसैलाई हामीले विजयी घोषणा गर्ने हाम्रो योजना छ । 

निर्वाचन आयोग यो निर्वाचनमा आचारसंहिता कार्यान्वयनमा अलिकति निर्मम बनेको हो कि भनेर बाहिर कुराहरू आएका छन् । साँच्चिकै निर्मम बन्नुभएको हो ? 
न हिजो आयोग कठोर थियो न आज कठोर छ । न भोलि नरम हुन्छ । त्यस्तो केही होइन तर अहिले राजनीतिक चेतना बढेको हो । राजनीतिक दल र उम्मेदवारले तडक भडक गरेर भन्दा पनि आफ्ना एजेण्डा शालीन ढंगले राखेर पनि निर्वाचन जित्न सकिन्छ भन्ने सोच राख्नु हो । केही केही मित्रहरूमा अझै पनि त्यो चेत आउन बाँकी रहेछ । उहाँहरूको हकमा हामीले प्रश्न सोध्न बाध्य भयौ । अहिले सामाजिक सञ्जालको प्रयोगको विषयमा पहिलो पटक प्रवेश गर्‍यौ । केही साथीहरूलाई स्पष्टीकरण सोध्यौ । त्यो सामाजिक सञ्जालमा गर्न नहुने कारणले हो । त्यस कारण भौतिक रुपमा आचारसंहिता उल्लङ्घनका घटनाहरू भएन भन्नुको अर्थ हामी इमान्दार भयौ, नैतिकवान् भयौ भनेको हो । आयोग कठोर भएको होइन । यो नैतिकता अझ यो १५ दिनमा झन् राम्ररी देखिन्छ । यो सदाचारिता, इमानदारिता, अनुशासन अझै प्रकट हुन्छ भन्ने विश्वास छ । यो आयोगले गरेको भन्दिन यो दलहरू र उम्मेदवारहरूको सदाचारिता र उच्च प्रकारको सोच हो भन्ने ठान्छु म । यद्यपि, हामीले पनि निगरानी गरिराखेका छौ । सम्पूर्ण आमसञ्चारमाध्यम, नागरिक समाजबाट पनि भइरहेको छ । सबैको चाहाना असल हुनु हो । हामी कठोर छैनौ तर के चाही प्रष्ट पार्छौ भने यति हुँदा हुँदै पनि हामी सबैको सदाशयतालाई कमजोरी ठानेर जानीजानी आयोगलाई चुनौती दिन्छौ भन्ने ढङ्गबाट अगाडि बढ्यो भने हामी सबै मिलेर राम राम चाहिँ भन्छौ, काँध थाप्न सक्दैनौ । 

यहाँहरूले एउटा दल वा उम्मेदवारलाई आचारसंहिता उल्लङ्घनको स्पष्टीकरण सोध्दै गर्दा आयोग अर्को दलबाट प्रभावित छ कि भनेर आरोप लगाउने परिपाटी छ, यसको जवाफ यहाँले दिइहाल्नु भयो । अब यो १५ दिनमा अनुगमनलाई कसरी प्रभावकारी बनाउनुहुन्छ ? 
पहिला केन्द्रीकृत मोडलमा थियो, अहिले सम्पूर्ण रुपमा विकेन्द्रिकृत गर्‍यौ । अर्थात् एउटा गाउँमा, एउटा टोलमा एउटा समुदायमा यस्ता घटना कसरी भइरहेको छ भन्ने विषय नेपाल प्रहरीको संरचनाले हेरिरहेको छ र हामी खुसी खुसी छौ डे टु डे विवरण दिइरहेका छौ । २० गतेदेखि कहाँ के भयो भनेर छुट्टै रिपोर्टिङसहित आयोगमै संरचना बनाउँछौ । जोइन्ट इलेक्सन अप्रेसन सेन्टर त्यहाँबाट दिन्छौ अहिले आइरहेको पनि छ । दोस्रो जिल्ला स्तरीय संयन्त्र बलियो बनाएका छौ । मुख्य जिल्ला निर्वाचन अधिकृतज्यू, मान्य जिल्ला न्यायाधीश ज्यू, उहाँको निष्पक्षता, जुन शालीन व्यक्तित्व हुनुहुन्छ प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, उहाँहरूले अत्यन्तै मेहेनतका साथ हेर्नुभएको छ । जिल्लामा सम्पूर्ण अधिकार सहित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई मुख्य अनुगमन कार्यका लागि तोक्यौ । यसरी गाउँ, समुदाय जिल्ला स्तरका घटना तलैबाट व्यवस्थित भएकाले सजिलो भएको छ । 

सामाजिक सञ्जाललाई अनुगमन गर्न आयोगले विशेष टाक्सफोर्स गठन गरेर देशभरीमा प्रत्येक दिन कहाँ के समाचार छापिएको छ, कुन समाचार कहाँबाट आयो भन्ने विषयका आधारमा कारबाही गर्नुपर्ने ठाउँमा कारबाही गरेका छौ । अनुगमन संयन्त्रले व्यवस्थित भएको हुनुपर्छ म सबैलाई धन्यवाद दिन चाहन्छु । 

आयोग समक्ष निर्वाचनका चुनौतीहरू के कस्ता छन् ? 
तपाईँले राम्रो कुरा भन्नुभयो । मैले ३/४ चुनौती देखेको छु । पहिलो स्थानीय तहमा मतदान केन्द्र, मतदान स्थल, मतदाता नामावलीको विषय, मतगणना, मतदान कार्यमा हुने सुरक्षा व्यवस्था, लगायतका विषयमा हामीले जेजस्ता समस्या देख्यौ त्यसलाई कसरी सम्बोधन गर्ने यसअघि समस्या भोग्ने मतदातालाई अहिले समस्या भोगिन भन्ने बनाउन लागेका छौ । दोस्रो अपाङ्गता भएका व्यक्तिहरू उहाँहरूलाई पनि समान अवसर छ उहाँहरूको शारीरिक कमजोरी भएकाले विशेष व्यवस्था गर्नुपर्ने भएकाले अपाङ्गता अशक्त, गर्भवती महिला, वृद्धलाई सहजताको साथ मतदान गराउने कार्यमा हाम्रो प्रयत्न हुन्छ । तेस्रो सवारी साधन सञ्चालन गर्ने विषय र सञ्चारकर्मीलाई रिपोर्टिङ गर्न कठिनाइ हुने भएकाले उक्त विषयलाई गहन ढंगले हेरेका छौ । यसलाई समाधान गर्छौ । र चौथो महत्त्वपूर्ण विषय भनेको मतदाता शिक्षालाई व्यवस्थित गर्ने हो । यसलाई हामीले वडा स्तरबाटै सामाजिक परिचालक मार्फत सम्बोधन गरिरहेका छौ । दुईवटा कुरालाई गम्भीर रुपमा चुनौतीका रुपमा लिएका छौ । सामाजिक सञ्जाल मार्फत गरिएका गाली गलौज छन्, लान्छानापूर्ण र निराशाका अभिव्यक्तिहरू छन् यी सबै हाम्रा कानुन र आचारसंहिता विपरीत विषयहरू हुन । यसलाई हटाउनुपर्छ । यस्ता सामाग्री सुन्दा कान थुन्नु पर्छ , हेर्दा पनि आँखा छोप्नु पर्छ , लेखिएका कुरा कोही छ कि वरिपरि हेरेर मनमनै पढ्नुपर्ने जस्ता सामाग्रीहरू राखेर निर्वाचन स्वच्छतामा असर पु¥याउने र हाम्रो अभिव्यक्ति स्वतन्त्रता र मतदाताको सुसुचित हुन पाउने अधिकारलाई कुण्ठित पार्ने प्रयत्न कही कतैबाट फेरि पनि हुने हो कि भन्ने पनि एउटा ठुलो चुनौती छ । मतदाताहरूलाई निर्धक्क भएर सुरक्षित भएर मतदान गर्न सक्छु कि सक्दिन भन्ने छ भने तपाई सक्नुहुन्छ । मतदाता, मतदान केन्द्र, स्थल, मतदान कार्यमा खटिएको कर्मचारी, सुरक्षाकर्मी, कुनै पनि कारणबाट असुरक्षित छैन । चुनौतीहरू समाधान गर्ने गरी अयोगले आवश्यक तयारी गरेको छ । 

यो वर्षको निर्वाचनमा कतिको मितव्ययिता अपनाउनुभएको छ ? 
राम्रो कुरा सोध्नुभयो । स्थानीय तहको निर्वाचनदेखि नै पारदर्शी ढंगले शीर्षकसहित सार्वजनिक गर्ने आयोगले प्रारम्भ गरेकै छ । अहिलेको आँकलन करिब करिब १० अरब बजेट चाहिन्छ भन्ने  हाम्रो अनुमान हो । स्थानीय तहको निर्वाचनमा हामीले एउटा मतपत्र छापेका थियौ । अहिले सात प्रकारका ८ करोडभन्दा धेरै मतपत्र छाप्नुपर्छ ठुलो खर्च त्यही हुन्छ । हाम्रा मतदान स्थलहरू बढेका छन् । स्थानीय तहको निर्वाचनमा एउटा मतदान  केन्द्रमा ६/७ जना कर्मचारी खटाएका थियौ । अहिले ११÷१२ जना स्वयंसेवी कर्मचारी खटाउनुपर्छ । अर्को विषय जानकारी पनि होस विगतदेखि इस्यु उठेको निर्वाचनमा नेपाल सरकार अन्तर्गतका सबै कर्मचारीहरू, सुरक्षाकर्मीहरू, कैदीबन्दी, ब्यारेकमा रहेका सेना प्रहरी, वृद्धा आश्रममा रहनुभएका ज्येष्ठ नागरिकहरू सबैलाई समानुपातिक निर्वाचनमा भाग लिन दिने अधिकार दिने भनेर अगाडि बढायौ । 

यसले गर्दा पनि थुप्रै मतदान केन्द्रहरू स्थलहरू, कर्मचारीहरू थप्नुपर्ने अवस्था आयो । यो आदि इत्यादि कुराले प्रतिव्यक्ति खर्च बढेपनि समग्र रुपमा यो भन्दा अगाडिका निर्वाचनसँग तुलना गरेर हेर्दा कममा नै निर्वाचन गर्न सक्ने गरी काम गरिरहेका छौ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button