तपाईँ सुन्दै हुनुहुन्छः

हराउँदै तिहारको मौलिक कला र संस्कृति (भिडियो)

सल्यान । तिहार झिलिमिली बत्तीको पर्व हो । तिहार बत्तीको पर्वसँगै अर्को महत्त्वपूर्ण पक्ष देउसी र भैलीलाई पनि लिने गरिन्छ  ।

परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ ।

तिहार सुरु भएसँगै टोल टोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अङ्गाल्दा मौलिकता भने गुमाउँदै गएको छ ।

देउसी र भैलोमा बज्नुपर्ने मादल, खैँजडी र बाँसुरीको साटो अचेल साउन्ड सिस्टमबाट नेपाली हिन्दी आधुनिक र र्‍याप गीत बजी रहेका छन् । साथै, सोरठी, पैसेरी, मयुर, मारुनी जस्ता नृत्यको स्थान आधुनिक शैलीको नाचले लिएको छ ।

यमपञ्चक सुरु भएपछि सल्यान बजारका चोक चोकमा देउसी, भैलो खेल्नेको भीड छ । तर उनीहरूले गाउने गीत र नाचमा कुनै मौलिकता नदेखिएको सिद्ध कुमाख गाउँपालिका–३ का धर्मराज घर्तीले बताउनुभयो । परम्परागत देउसी र भैलोलाई आधुनिकताले प्रभावित पारेको बताउनुभयो । उहाँले मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवा पुस्ताको चासो बढ्नुपर्ने सुझाव दिनुभयो ।
पश्चिमा संस्कृतिले नेपालको मौलिकता मेटाउन लागेको बनगाड कुपिण्डे नगरपालिका–४ का निवर्तमान वडाध्यक्ष मोमत रोकाले बताउनुभयो । उहाँले भन्नुभयो  “अहिलेको गीतमा मौलिकता कत्ति पनि छैन, मादल, बाँसुरी र खैँजडी बजाएर गरिने बनगाडी टप्पा, मारुनी र सोरठीको नाच अब कहाँ हेर्न पाउनु ?”

आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उहाँको बुझाइ छ । “हामीमा मौलिकता जोगाउने भन्ने भावना विकास नै भएन, अरूको देखासिकी गर्ने बानीले कैयौँ संस्कृति लोप भइरहेका छन् ।”, उहाँले भन्नुभयो ।

विदेशी संस्कृतिको अनुसरण गरे पनि मौलिक देउसी, भैलोको खास, महत्त्व र मर्म भने हराउन दिन नहुने बताउनुहुन्छ । तर पछिल्ला वर्षमा पैसा सङ्कलन गर्नका लागि विदेशी गीत, सङ्गीत र नाचको प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो “प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो हो, तर आफ्नो मौलिकतालाई भुल्नु भनेको पहिचानलाई सङ्कटमा पार्नु हो, नयाँ पनि सिकौँ, अनुसरण गरौँ र पुरानोलाई पनि संरक्षण गरौँ भन्ने भावना युवा पुस्तामा भएन भने भोलि विदेशी र हामीमा केही भिन्नता हुने छैन ।”

मौलिकतालाई जोगाउन युवापुस्ता नै लाग्नुपर्ने छत्रेश्वरी गाउँपालिका–१ पलाटेका प्रदीप योगीले बताउनुभयो । उहाँले बुढापाका मौलिकताको खानी भएको भन्दै उनीहरूबाट युवापुस्ताले ग्रहण गर्नुपर्ने उहाँको भनाई छ  ।

https://www.facebook.com/radionepal/videos/2741110832687337

प्रतिक्रिया राख्नुहोस्

Back to top button