तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकाको समग्र विकासमा नीति निर्मातादेखि अभिभावकसम्मको कमजोरी

तस्विरः दुर्गम लप्ची गाउँ र काठमाडौँमा पढिरहेका बालबालिकाहरू

काठमाडौं ।  प्रारम्भिक बाल विकास सम्बन्धी नीति निर्मातादेखि अभिभावकसम्मको बुझाइको कमीले बालबालिकाको समग्र विकासमा असर पुर्‍याएको विज्ञहरू औल्याउछन् । बालबालिकाका लागि  मानसिक र शारीरिक वृद्धि विकासदेखि पोषण र स्वास्थ्य शिक्षासम्मको सहज पहुँच  हुनुपर्नेमा हालसम्म नीतिगत रुपमा कसैले पनि चासो लिएको पाइँदैन । 

संविधानले मौलिक हकका रुपमा स्वीकार गरेको बालबालिकाको शिक्षा र स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि धेरै छलफल र अभियानहरू सञ्चालन भएका छन् तर बालबालिकाको मानसिक  वृद्धि विकासको महत्त्वपूर्ण मानिएको समय प्रारम्भिक बाल विकासमा भने  खासै चासो दिइएको पाइँदैन । अभिभावकहरू आफ्ना छोराछोरीलाई राम्रो शिक्षासँगै स्वस्थ रहुन्  भन्ने मात्रै चाहन्छन् । तर वालविकास विज्ञहरू भने प्रारम्भिक बा विकासका लागि यतिले मात्रै नपुग्ने बताउँछन् ।

गर्भावस्थादेखि ८ वर्षसम्मको उमेर समूहका बालबालिकाको मस्तिष्क बलियो बनाउनु प्रारम्भिक बाल विकास भएको बताउनुहुन्छ बाल विकास विज्ञ डा. मिनाक्षी दाहाल । प्रारम्भिक बालविकास उचित शिक्षा मात्रै होइन । गर्भावस्थादेखि नै उचित पोषण, खोप, लालनपालन, सिकाइ, सुरक्षा, संरक्षण, उमेर अनुसारको बालबालिकामा देखिने आनीबानी, शिक्षादीक्षालगायत प्रारम्भिक बालविकास अन्तर्गत पर्दछ । नीतिगत रुपमा प्रारम्भिक बाल विकासलाई हेर्ने छुट्टै निकाय नहुँदा पनि यसबारे मानिसहरूमा बुझाइमै समस्या छ । राष्ट्रिय योजना आयोगले प्रारम्भिक बालविकासको राष्ट्रिय रणनीति बनाएको भएपनि यो बहुपक्षीय विषय हुनाले कार्यान्वयन हुन सकेको छैन र कसरी कुन कुन निकायले कार्यान्वयन गर्ने भन्ने पनि अन्योल नै छ 

संविधानले प्रारम्भिक बालविकास केन्द्रको जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । तर स्थानीय सरकारले विद्यालय जाने उमेरका बालबालिका शिक्षाको अधिकारलाई मात्रै ध्यान दिएको पाइन्छ । बाल विकास विज्ञ डा. दाहाल प्रारम्भिक बालविकास बहुपक्षीय विषय भएकोले कसले जिम्मा लिने भन्ने समस्या रहेको बताउनुहुन्छ । 

छोराछोरी विद्यालय जानु र राम्रोसँग पढ्नु मात्रै प्रारम्भिक बालविकास होइन, आमाको गर्भदेखि ८ वर्षभित्र प्रत्येक बालबालिकाको मस्तिष्क  विकास भई  एउटा राम्रो र सक्षम मानव तयार गर्न प्रारम्भिक बालविकासका लागि राज्य स्तरबाटै नीति निर्माण र कार्यान्वयनदेखि अभिभावक सचेतनासम्मको कार्यक्रम ल्याइनु जरुरी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button