तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पसेपछि बाँकेमा ७५ घरपरिवार स्थानान्तरण

नेपालगन्ज । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थानान्तरण गरिएको छ ।

वर्षाले नदीमा आएको बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्र समेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रय स्थलमा सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।उहाँका अनुसार बाढीले गाउँ नै डुबानमा परेपछि रेडक्रसकर्मी, प्रहरी सहितको टोलीले स्थानीयवासीलाई उद्धार गरी आश्रय स्थलमा राखेको हो । 

बाँकेका तल्लो तटीय क्षेत्रका करिब ३ सय घर डुबानमा परेका छन् भने दर्जनौँ घरमा क्षति पुगेको छ । राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका– १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सय घर डुबानमा परेका छन् । बाढीले घरभित्र पानी पसेर राखिएको अन्नपात लत्ताकपडा भिजेर क्षति पु¥याएको स्थानीयवासी गणेश गुप्ताले बताउनुभयो ।

वर्षाका कारण राप्ती नदीले खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ दशमलव ९५ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । 

अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्न सक्ने हुँदा आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आग्रह गर्नुभयो । राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दी गाउँलगायत स्थानमा बाढी आउँछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button