तपाईँ सुन्दै हुनुहुन्छः

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रा

भक्तपुर । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा राति देखिनै दर्शनार्थीको भीड लागेको छ । 

नवदुर्गाको शक्ति पीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । 

हिजोदेखि परेको अनवरत पानी र झरीको समेत प्रवाह नगरी स्थानीय नेवार समुदायले भव्य रूपमा ब्रह्मायणी जात्रा मनाएका छन् ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमी, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजनहरू आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

गाँठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय् अर्थात् राँगोलाई गए राति नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मताएर अबिर दलेर दौडाउँदै, लखेट्दै ब्रह्मायणी मन्दिर पुर्‍याएर वध गरेपछि रातिदेखि नै यो जात्रा सुरु भएको हो ।

व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो)बालेर जाने र पूजा गर्ने प्रचलन रहेको छ । यस वर्ष अनवरत वर्षाका कारण समस्या परे पनि दीप बालेर मन्दिरसम्म पुगेका छन् । यो परम्पराले मनोकाङ्क्षा पूरा हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ । मन्दिरमा आज दिनभरि नै भव्य मेला लाग्ने गर्दछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button