तपाईँ सुन्दै हुनुहुन्छः

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु 

file photo

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने विश्वास गरिएको छ । 

प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेशसभातर्फको पनि अन्तिम रूप पाउने कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो ।

सिट बाँडफाँटका बारेमा प्रतिनिधिसभातर्फको थोरै मात्र सहमति गर्न बाँकी रहेको उहाँले बताउनुभयो । आजको शीर्ष नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट सक्ने गरी कार्यदलले काम सकेर बुझाएको जनाइएको छ । यस सम्बन्धमा छलफल गर्न सोमबार पनि रातिसम्म पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतृत्वको बैठक बसेको थियो । 

बैठकलाई निष्कर्षमा पुर्‍याउन आज बिहान दलहरूका आन्तरिक र द्विपक्षीय वार्ता पनि भएको जनाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारी दर्ताको कार्य तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । 

त्यसअघि नै गठबन्धनका दलबीच सिट बाँडफाँट गरी दलले आ–आफ्नो दलका तर्फबाट उम्मेदवारको अन्तिम सूची बनाउनुपर्ने हुन्छ । 

बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button