तपाईँ सुन्दै हुनुहुन्छः

छैटौँ पैदल निशान ध्वजा यात्रा सम्पन्न  

विराटनगर । विजया दशमीको महानवमी पर्वको दिन आयोजना हुने   पैदल निशान ध्वजा  यात्रा आज अपराह्न सम्पन्न भएको छ   ।    

बिहान ६ बजे विराटनगरस्थित  काली मन्दिरबाट निशान यात्रा  प्रारम्भ भएको थियो ।

विराटनगरको काली मन्दिरबाट सुरु भएको निशान यात्री २४ किलोमिटर पैदल हिँडेर भजन कीर्तन गर्दै रंगेलीस्थित ऐतिहासिक काली मन्दिर पुगेपछि यात्रा सम्पन्न भएको हो  । 

मन्दिर पुगेर निशान यात्रीहरूले आफूले बोकेका ध्वजा काली मातालाई चढाएका थिए । भक्तजनहरू पैदल हिँडेर शरीरलाई कष्ट दिँदै ध्वजा चढाउँदा मनोकामना पुरा हुने विश्वास रही आएकाले  निशान यात्राप्रति भक्तजनको ठुलो विश्वास रहँदै आएको छ । 

रङेली काली मन्दिरको आयोजनामा विगत पाँच वर्षदेखि निशान यात्रा हुँदै आएको छ । रंगेलीका युवाहरूको पहलमा सुरु भएको सो यात्राले अहिले भव्य रूप लिएको छ ।  भक्तजनहरू उपवास बसेर निशान यात्रामा सहभागी हुँदै आएका छन् । मनोकामना पुरा हुने भएकाले कतिपय घरका सबै परिवार यात्रामा सहभागी हुने गरेका छन् । 

यात्रा रंगेलीस्थित सानसारी मन्दिर पुगेपछि ठुलो सङ्ख्यामा भक्तजन सहभागी भई रङेली नगरपालिकाको अगवाईमा बाजागाजा झाँकीसहित  निशान यात्रीको टोली अपराह्न  काली मन्दिर पुगेको हो   ।

यात्रामा मोरङ, सुनसरी, झापा जिल्लासहित भारतीय सीमावर्ती क्षेत्रका ठुलो सङ्ख्यामा  भक्तजन सहभागी थियो   । आज बिहान नै देखि सिमसिम पानी परेकाले चिसो मौसम भएकाले पनि यात्रा गर्न सहज भएको निशान यात्री बताउँछन् । 

निशान यात्रामा सहभागी हुने भक्तजनहरूलाई छाला जुत्ता, चप्पल, बेल्टलगायत छालाका कुनै पनि सामानको प्रयोग गर्न निषेध गरिएको थियो  । यात्रीहरूको सहयोगका लागि विराटनगरदेखि रंगेलीसम्म   आठ  ठाउँमा विभिन्न संघसंस्थाहरुले  शिविर आयोजना गरेका थिए । 

मोरङ जिल्लाका पुरानो सदरमुकाम रङेली मन्दिरको सहर भएकाले महानवमी पर्वको दिन आयोजना हुने काली मन्दिरको निशान यात्रा तथा  सानसारी मन्दिरमा हुने  प्रदेशस्तरीय फूलपातीको बढाइँले यस क्षेत्रको धार्मिक महत्त्वलाई झनै बढाएको रङेली नगरपालिकाका मेयर दिलीप कुमार अग्रवालले बताउनुभयो ।   

निशान यात्राले विराटनगरको काली माताको मन्दिर, रंगेलीको प्राचीन काली माताको मन्दिर तथा सानसारी माताको मन्दिरलाई जोडने काम गरेकाले  निशान यात्राको ठुलो धार्मिक महत्त्व रहेको मेयर अग्रवालको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button