तपाईँ सुन्दै हुनुहुन्छः

बाढी र पहिरोबाट पीडित १ सय ४३ घरपरिवारलाई राहत

अछाम । बाढी र पहिरोबाट पीडित १ सय ४३ घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटीले अछाम शाखाले नगद राहत वितरण गरेको छ । 

बाढी र पहिरोबाट पीडित भएका कमलबजार नगरपालिकाका विभिन्न वडाका ६० र तुर्माखाँद गाउँपालिकाका ८३ घरपरिवारलाई सम्बन्धित स्थानमा पुगेर राहत वितरण गरिएको हो ।

कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले रेडक्रसले निष्पक्ष भएर राज्यका निकायलाई सहयोग गर्दै आइरहेको भन्दै विपद्का बेलामा पीडितलाई सहयोग गरेर पीडामा मलहम लगाएको बताउनुभयो । 

उहाँले कमलबजार नगरपालिकामा वर्षाले ठुलो क्षति तथा विपत्ति आएकाले यसका लागि रेडक्रसलाई आगामी दिनमा सहयोग गर्न अनुरोध समेत गर्नुभयो ।

तुर्माखाँद गाउँपालिकामा राहत वितरणका क्रममा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिसीले विपद्का बेलामा रेडक्रसले यसअघि अस्थायी बासका लागि सामग्री र हाल नगद रकम उपलब्ध गराएको भन्दै  धन्यवाद दिनुभयो । 

गाउँपालिकामा पहिरो र बाढीबाट धेरै क्षति भएर विस्थापित भएको भन्दै रेडक्रसले आवश्यकता भएकालाई थप सहयोग गर्न अनुरोध गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्नप्रसाद ढुङ्गानाले विपद्मा परेका व्यक्तिहरूलाई चाडपर्वको बेलामा खाद्यान्नमा सहयोग हुने उद्देश्यले प्रतिपरिवारमा राहत रकम वितरण गरिएको बताउनुभयो । 

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा विपद्बाट पीडितलाई केही राहत रकम हस्तान्तरण गरिएको रेडक्रस अछामका मन्त्री ध्रुवकुमार शाहीले जानकारी दिनुभयो ।

राहत वितरणका कमलबजार नगरपालिकामा प्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख शारदा विष्ट, वडा अध्यक्ष र वडा सदस्यलगायतको सहभागिता रहेको छ । 

यस्तै तुर्माखाँद गाउँपालिकामा अध्यक्ष डम्बरबहादुर बिसी, उपाध्यक्ष विमलाकुमारी शाही, वडा, अध्यक्ष, वडा सदस्य र स्थानीय अगुवाको सहभागिता रहेको थियो ।

राहत वितरणका क्रममा नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्नप्रसाद ढुङ्गाना, मन्त्री ध्रुवकुमार शाही, रेडक्रस केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत उमेश ढुङ्गाना, रेडक्रस मङ्गलसेन शाखाका सचिव धनकुमार केसी लगायतको सहभागिता रहेको थियो । 

वडामा सङ्कलन र छनौट गरेर सम्बन्धित स्थानीय तहले रेडक्रसलाई उपलब्ध गराएको नामावली अनुसार राहत वितरण गरिएको बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button