तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्न राष्ट्रसङ्घीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनसम्बन्धीका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्न विश्वमा सबै देशलाई आग्रह गर्नुभएको छ । 

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो– अहिले विश्वमा जलवायु परिवर्तनका कारण विभिन्न देशहरूमा ठुलो समस्या देखा परिरहेको छ, त्यसैले सबै देशहरूले र विशेष गरी जी २० का सदस्य राष्ट्रहरूले यस विषयमा ध्यान दिनुपर्छ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्बन्धी सम्मेलन कोप २७ का लागि विश्वका देशहरूले एजेण्डा बनाइरहेको बताउँदै ती एजेण्डामा जलवायु परिवर्तनलाई आवश्यक मात्रामा प्राथमिकतामा राख्न उहाँले आग्रह गर्नुभएको हो ।

इजिप्टको सराम आल सेख सहरमा आगामी नोभेम्बर महिनाको ६ देखि १८ तारिखसम्म विश्व जलवायु सम्बन्धी सम्मेलन कोप २७ हुने भएको छ । सो सम्मेलनमा विश्वका विभिन्न देशहरूले जलवायु परिवर्तन सम्बन्धी आफ्ना एजेण्डा र प्राथमिकताहरू निर्धारण गरिरहेका बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घले यसअघि पनि विश्वका आफ्ना सदस्य देशहरूलाई जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धमा आ–आफ्ना देशका बजेट एवं नीति तथा कार्यक्रमहरू प्राथमिकताका साथ निर्माण गर्न आग्रह गरिरहेको थियो ।

आगामी यस विश्व सम्मेलनमा पनि यसै विषयमा संयुक्त राष्ट्रसङ्घले विश्वका आफ्ना सदस्य देशहरूलाई आग्रह गर्ने भएको पनि समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button