तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशको लोक सेवा आयोगको परीक्षा फल प्रकाशनमा त्रुटी

जनकपुरधाम । मधेश प्रदेशको लोक सेवा आयोगको अधिकृत सातौं तहको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशनमा त्रुटी पाइएको छ । आयोगले परीक्षामा सहभागी भएका भन्दा १२ जना बढी परीक्षार्थीको नजिता प्रकाशन भएपछि त्रुटि देखिएको हो ।

आयोगले गत साउन १८ गते सञ्चालन गरेको परीक्षामा २ हजार ५ सय ६७ परीक्षार्थी सहभागी भएका थिए । आयोगले असोज १३ गते नतिजा प्रकाशित गर्दा २ हजार ५ सय ७९ जनाको नतिजा सार्वजनिक गरेको छ, जसमा परीक्षामा सहभागी भन्दा १२ जना बढी परीक्षार्थीको नतिजा प्रकाशन भएको छ ।

२ हजार ५ सय ६७ देखि २ हजार ५ सय ७९ सम्मका परीक्षार्थी क्रमशः पास भएको पाइएको छ । यसले परीक्षाको विश्वसनीयता माथि प्रश्न उठेको छ ।

लोकसेवा आयोग मधेश प्रदेशका प्रवक्ता गंगेश गुञ्जन झाले परीक्षाको बेला केही आवेदक थपिएकाले नजित बढी प्रकाशन भएको दावी गर्नुभयो । उहाँका अनुसार तीन हजार बढीले सातौं तहका लागि अनलाइन आवेदन दिएकोमा प्रक्रिया नपुगेर अयोग्य भएर केहीको नाउँ काटिएको थियो । योग्य भएका २ हजार ५ सय ६७ जनाको अनलाइन आवेदन स्वीकृत गरिएको थियो ।

परीक्षाको अन्तिम समयमा केही परीक्षार्थीले आवेदनको प्रकृया पूरा गरी परीक्षामा सहभागी हुन आग्रह गरेका थिए । उनीहरुले एक वर्ष परीक्षाका लागि कुर्नुपर्ने भएको दुःखेसो सुनाएपछि आयोगले १२ जना बढीलाई सहभागी गराएको जानकारी दिएको छ । केन्द्रीय लोकसेवा आयोगमा पनि सो व्यवस्था रहेको मधेश प्रदेश आयोगले जनाएको छ ।

यसअघि आयोगले गत असोज एक गते लिएको सहायक पाँचौं र असोज तीन गते लिएको सहायक चौथो तहको परीक्षाको व्यवस्थापनमा पनि अस्तव्यस्तता देखिएको थियो । दक्ष जनशक्तिको अभाव मधेश प्रदेशको लोकसेवा आयोगमा देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button