तपाईँ सुन्दै हुनुहुन्छः

समानुपातिक प्रणालीतर्फको बन्द सूचीबाट २९ जनाद्वारा नाम फिर्ता

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्द सूचीबाट २९ जनाले नाम फिर्ता लिएका छन् ।

प्रतिनिधिसभातर्फ ९ र प्रदेशसभातर्फ २० गरी २९ जना उम्मेदवारले नाम फिर्ता लिनुभएको समानुपातिक निर्वाचन प्रणाली तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका ४, जनता समाजवादी पार्टी जसपाका ३ नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादी पार्टीका १ जनाले नाम फिर्ता लिनुभएको छ । 

दलहरूले बुझाएको संशोधित बन्द सूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्द सूचीबाट फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्मको समय निर्धारण गरिएको थियो ।

अब असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्नुपर्ने प्रवक्ता वाग्लेले बताउनुभयो ।

यही असोज २२ गते उम्मेदवारको बन्द सूचीमा सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, आगामी कात्तिक ८ गते बन्द सूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button