तपाईँ सुन्दै हुनुहुन्छः

दसैँ पर्वमा बीरगंज भन्सार नाका आजबाट चार दिनका लागि बन्द 

बीरगंज । दसैँ पर्वमा यस पटक देशकै मुख्य भन्सार कार्यालय बीरगंज भन्सार आईसिपी आजबाट चार दिन बन्द भएको छ । 

वीरगञ्ज भन्सार कार्यालयले आज सूचना निकालेर आगामी असोज २० गते एकादशीसम्म एकीकृत जाँच चौकी (आईसीपी) बन्द रहने जनाएको छ । 

अघिल्ला वर्षहरूमा केही कर्मचारी खटाएर भए पनि मालसामान जाँच पास हुँदै आएको थियो । यस पटक दसैँमा चार दिनसम्म वीरगञ्ज भन्सारबाट माल वस्तुको जाँच पास स्थगित हुने भएको छ । 

यात्रु शाखाबाट भने आवतजावत सहितका सेवाहरू प्रदान गरिने भन्सारले सूचनामा जनाएको छ । यात्रु शाखाबाट मानिसको आवागमन र नेपाल भित्रिने भारतीय सवारीलाई प्रवेश अनुमतिलगायतका काम मात्र हुने जनाइएको छ । 

विगतमा वर्षमा केही कर्मचारी राखेरै भए पनि माल बस्तुको जाँच पास गर्दै आएकोमा यो वर्ष भन्सारले चार दिनसम्म भन्सार बन्द गरेको र यसबाट आयातकर्तालाई समस्या पर्ने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपालले बताउनुभयो । 

चार दिनसम्म आईसीपी पूर्ण रूपमा बन्द हुँदा अत्यावश्यक सामग्री, फलफूल र तरकारीजस्ता वस्तुको आयातमा समस्या हुने राजपालले बताउनुभयो । 

आईसीपी बन्द भएपछि भारत र तथा तेस्रो मुलुकबाट मालसामान लिएर आएका ढुवानीका साधन सीमापारि भारतीय क्षेत्रमै बस्नुपर्ने भएको छ । दैनिक ५÷ ७ सय ढुवानीका साधन आउने यो नाकामा रहेको भन्सार बन्द भएपछि भारततर्फ सडकमा यस्ता साधनको लामो जाम लाग्ने र भन्सार खुलेपछि व्यवस्थापनमा समस्या हुने वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ताले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button