तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको  विपन्न बस्तीमा शिक्षा र सिपमूलक तालिमका लागि उज्यालो घर

चितवन । चितवनको विपन्न बस्तीमा शिक्षा र सिपमूलक तालिमका लागि उज्यालो घर निर्माण गरिएको छ । 

इच्छाकामना गाउँपालिका–७ भालुमारामा निर्माण गरिएको उज्यालो घरको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गर्नुभयो । 

सेवा अहिले नेपाल संस्थाको सहयोगमा निर्माण भएको उज्यालो घरमा गाउँका विपन्न नागरिकले जुनसुकै समयमा पनि पढ्न र सिप सिक्न पाउनेछन् ।

सो बस्तीमा झन्डै दुई सय घरधुरी छन् । उज्यालो घरमा स्कुल जानुअघि बिहान र स्कुलबाट फर्केपछि साँझमा विद्यार्थीले अध्ययन गर्न सक्नेछन् । यस्तै फुर्सदमा रहेकाहरूले सिपमूलक तालिम लिन पाउनेछन् । विद्यालय जान नपाएका छोरी, बुहारी र आमाहरूले पनि उज्यालो घरमा गएर पढ्न सक्ने अध्यक्ष गुरुङले बताउनुभयो । 

उहाँले गाउँपालिकामा सबैभन्दा पछाडि परेको सुकुम्वासी क्षेत्र भएकाले लालपुर्जा वितरणको काम पनि यहीबाट सुरु गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

भालुमाराका सबै नागरिकलाई साक्षर र आयआर्जनका लागि सिपमूलक तालिम दिने उद्देश्यले उज्यालो घर निर्माण गरिएको सेवा अहिले नेपालका चितवन प्रतिनिधि ईश्वरकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले उज्यालो घरमा पढाउनका लागि शिक्षक र तालिम दिनका लागि प्रशिक्षकको व्यवस्था गरिएको बताउनुभयो । 

”झन्डै ६० देखि ७० जनालाई पढाउने र सिपमूलक तालिम दिने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, ”सबै सहभागीका लागि निःशुल्क व्यवस्था गरेका छौँ ।” 

सबैलाई विद्यालय जाने वातावरण बनाउन र तालिम सिकाएर रोजगार बनाउने प्रमुख उद्देश्य राखिएको उहाँको भनाई छ । तीन कट्ठा जग्गामा २५ लाखको लागतमा भवन निर्माण गरिएको हो । 

सो गाउँमा चेपाङ र जनजातिको मात्र बसोबास छ । सो संस्थाले इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा निःशुल्क सिलाई कटाई तालिम, छात्रवृत्ति, विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी, जाडोका कपडा, झोला, खाद्य सामाग्री लगायतका सहयोग समेत गर्दै आएको संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button