तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटको मत्सरीस्थित दुर्गा मन्दिरमा वैदिक विधि विधान अनुसार पूजापाठ

जनकपुरधाम । रौतहटको दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वको दुर्गा मन्दिरमा विगत झैँ यस वर्ष पनि भव्य रुपमा पूजापाठ गरिएको छ ।

वैदिक विधि विधानपूर्वक दुर्गाको भव्य पूजा घटस्थापनादेखि सुरु भएर विजया दशमीसम्म हुने गरेको छ । त्यसो त गाउँमा ३ सय ६५ दिन नै भगवतीको पूजा तथा आराधना भए पनि नवरात्रको अवधिमा विशेष नियम निष्ठापूर्वक गर्ने गरिन्छ ।

वर्षौंदेखि गाउँलेहरूले सामूहिक रुपमा पूजा गर्दै आएका छन् । गाउँलेहरूले नै बनाएको दुर्गा पूजा समितिले पूजाको सम्पूर्ण व्यवस्थापन गर्दै आएको छ ।

नवरात्र अवधिभरिमा घटस्थापना गरेर २४ घण्टे दुर्गा सप्तशतीको पाठका साथै प्रत्येक दिन वेद पाठ, पुराणको पाठ तथा अन्य प्रकारको अनुष्ठानको आयोजना हुँदै आएको छ । पूजा अवधिका लागि संकल्पित रहेका पण्डित तथा पुरोहितका लागि मन्दिरकै पाकशालामा भोजन तथा फलफूल र नास्ताको प्रबन्ध गरिने गरिन्छ ।

मैथिल बाहुनहरूको बाक्लो बसोबास रहेको मत्सरीमा शक्तिको उपासना पहिला देखि नै हुँदै आएको छ । एक्कै परिवारबाट विस्तारित भएको सम्पूर्ण गाउँको इतिहास मध्यकालीन मिथिलाका राजधानीसँग जोडिएको छ । बागमती नदिको पश्चिम तटमा हाल अवस्थित रहेको मत्सरी गाउँलाई पटक पटक बागमतीले कटान गरेपछि केही दशक अगाडी नदिमा स्थायी तटबन्धको निर्माण गरेर सुरक्षित पार्ने काम भएको छ ।

गाउँमा पढेलेखेका तथा विभिन्न उच्च ओहदामा पुगेका धेरै व्यक्तिहरू छन् । चिकित्सक, इन्जिनियर, प्राध्यापक, कानून व्यवसायी, पत्रकार, शिक्षक र अन्य निजामती सेवामा उल्लेख्य सङ्ख्यामा गाउँलेहरू रहेका छन् । त्यसो गाउँका घर घरमा नवरात्र अवधिमा दुर्गाको उपासना हुने गरेको छ ।

नवरात्रको सातौँ दिन आज मध्य रातमा कालरात्रिको विशेष पूजा रातभरि नै हुने गर्दछ । रातभरि नै मन्दिर परिसरमा भक्तजनहरूको भिड रहन्छ । आज बिहान फूलपाती विधि अन्तर्गत विलपत्रसहित अन्य वनस्पतिहरू मन्दिरमा भित्र्याउने काम भएको छ ।

बाजा गाँजा झाँकी, हेलिकोप्टरबाट पुष्पवृष्टि गर्दै हात्ती घोडा सहितको शोभा यात्राले षष्ठी तिथिका दिन विलपत्रलाई न्यौता दिने काम भएका थिए । आज मध्य रातमा कुभिन्डोको बलि दिइने छ । बोका बलि भोलिबाट सुरु हुने गरेको छ ।

दुर्गा पूजालाई भव्यता दिनका लागि नाचगान तथा अन्य प्रकारका मनोरञ्जनको व्यवस्था गरिएको छ । षष्ठी तिथिदेखि एकादशी तिथिसम्म विशेष मेला लाग्ने गरेको छ । मन्दिरमा भाकल अनुसारको प्रसाद सहितका बोका बलि तथा दर्शन गर्नका लागि नेपाल तथा भारतका विभिन्न ठाउँबाट ठूलो सङ्ख्यामा भक्तजनहरू मत्सरीको दुर्गा मन्दिरमा आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button