तपाईँ सुन्दै हुनुहुन्छः

जसले बनाए खर्कलाई होटल

पोखरा । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकका लागि मर्दी हिमाल पदमार्ग लोकप्रिय छ । पोखराबाट सबै भन्दा छोटो र रमाइलो पदमार्गका रूपमा मर्दी पदमार्गलाई चिन्ने गरिन्छ । हिँड्न सक्ने मान्छे मर्दी हिमालको हाई क्याम्प पुग्न पोखराबाट सिद्धिङ हुदैको बाटो प्रयोग गरे एकै दिनमा पुग्न सकिन्छ ।

मर्दी हिमाल जान धम्पुस हुँदै फरेष्ट क्याम्प–लो क्याम्प र हाइक्याम्प पुग्न पनि सकिन्छ । अधिकासंले फरेष्ट क्याम्प हुँदै जाने मार्ग प्रयोग गर्ने गर्छन् । यो पदमार्ग प्रयोग गर्दा मर्दी हिमालको हाई क्याम्प र ४२ सय मिटर उचाइमा रहेको भ्यू प्वाइन्ट पुग्न दुई दिन लाग्छ । यो पदमार्गको बादले डाँडाबाट हाई क्याम्प र भ्यू प्वाइन्टसम्म पुग्दा अन्नपूर्ण, माछापुच्छ्रे, गङ्गापूर्ण, अन्नपूर्ण साउथ लगायतका विभिन्न हिमालहरू नजिकबाट देख्न पाइन्छ । केही घण्टा हिँड्दा थकाई लागे पनि त्यहाँ पुगेपछि आँखै अगाडि ठोक्किन आइपुग्ने हिमालहरूले भने थकाइको महसुस नै हुँदैन ।

विभिन्न हिमश्रृखंलाहरुको दृश्यावलोकन गर्दै लालीगुराँसको जङ्गल बाटो भएर हिमालसम्म पुग्ने सबैभन्दा छोटो पदमार्गका रूपमा मर्दी हिमाल पदमार्ग स्थापित भएको थियो । पछिल्लो समय यो पदमार्गमा बाह्य भन्दा पनि आन्तरिक पर्यटकहरूले मर्दी हिमाललाई गुलजार गरेको छ । यस पदमार्गका पायोनियर हुन पर्यटनकर्मी सुदीप गौतम । 

उहाँ जन्मिएको, हुर्किएको कास्कीको माछापुच्छ्रे गाउँपालिका पर्यटनका लागि प्रचुर सम्भावना बोकोको ठाउँ थियो । बिहान ब्युँझँदा हिमाल देखिने, बेलुका निदाउने बेला पनि हिमाल देखिने । त्यही हिमाल हेर्न आउने पर्यटकले उहाँको मन तान्थ्यो । पछिपछि पर्यटकहरूले बोल्ने अङ्ग्रेजी भाषा प्रति गौतमको मोह उत्तिकै थियो । 

स्नातकोत्तर गर्न स्विट्जरल्याण्ड जाने योजना बनाएका सुदीपलाई प्राविधिक  त्रुटिका कारण त्रिभुवन विश्वविद्यालयबाट प्राप्ताङ्कले अवरोध गर्‍यो । त्यसको केही समय पछि भने विश्वविद्यालयले परीक्षाको नतिजामा प्राविधिक कमजोरी भएको भन्दै फेरि नतिजा प्रकाश नगर्दा उनको अङ्क राम्रो आयो । सच्चिएको नतिजा राम्रो आउन नपाउँदै गौतमको मन भने मर्दी  ट्रेक तर्फ गइसकेको थियो ।

सुरु सुरुमा अव्यवस्थित रहेको मर्दी पदमार्गमा केही विदेशी पर्यटक खाने, बस्ने सामग्री लिएर क्याम्पिङ गर्ने गर्थे । त्यो देखेका सुदिपलाई एकाएका मर्दी हिमाल पदमार्गलाई व्यवस्थित र प्रख्यात बनाउने सोच आयो । 

१० वर्ष पहिले मर्दी हिमाल पदमार्गको सिदिङदेखि लो क्याम्प, हाइक्याम्प र भ्यू प्वाईनटसम्म २० भन्दा बढी खर्क तथा भेडी गोठहरू थिए । गौतमका हजुरबुवाहरूले पनि खर्कहरूमा भेडा लगायत गौ प्राणीका गोठ बनाएका थिए । 

तिनै गोठहरूमा पर्यटकहरूले विश्राम लिने गर्थे ।त्यो देखेका सुदीपले एक खर्कबाट अर्को खर्कलाई जोड्ने गरी व्यवस्थित पदमार्गको रूपमा विकास गर्न कस्सिए । मर्दी जाने पदयात्रीलाई लक्षित गर्दै तिनै पहिलेका भेडी गोठ तथा खर्कमा होटेल बनाउन थाले । उनले मर्दी हिमाल ट्रेकको प्रवर्धन गर्न पर्यटन व्यवसायीदेखि सरोकारवाला निकायसम्मको ढोका ढकढक्याउन थाले । उनी मर्दी हिमाल ट्रेकलाई प्रवर्धन गर्न दत्तचित्त भएर लागिरहे । हजुर बुवाहरूको भेडी गोठमा चिया पसल खोली सुरुआत गरेका गौतमले पछि भने ८ कोठाको ‘ट्रेकर्स प्याराडाइज’ नामक होटेल खोले । उक्त पदमार्गको कुनै पनि ठाउँमा होटेल नभएको अवस्थामा उनले उच्च स्थान अर्थात् मर्दि हिमाललाई क्याम्पमा पहिलो पटक होटेल संचालनम ल्याउन सफल भए । त्यहाँ होटल खुलेपछि भेडी गोठ तथा खर्कमा आश्रय लिने गरेका तथा टेन्टमा रात बिताउने गरेका विदेशी पर्यटक पनि खुसी हुँदै सुदीपको होटेलमा बास बस्न थाले । यसले हौसिएका सुदीप पदमार्गको ठाउँ ठाउँमा होटेल खोल्न अन्य मानिसहरूलाई प्रेरित गरे । पहिलेका खर्कहरूका अधिकासं ठाउँमा अहिले भने होटलहरु छन् । १० वर्ष अघिका भेडी गोठ तथा खर्कहरू अहिले भने एका दुई बाहेक देख्न सकिँदैन ।

होटेल खोलेका सुदिप मर्दी पदमार्गको प्रवर्द्धनमा दत्तचित्त भएर लाग्न थाले । उनी काठमाडौँ, पोखरा लगायतका सहरमा मर्दी हिमाल पदमार्गको ब्रोसर बाँडेर प्रचार प्रसार गरे । मर्दी पदमार्ग प्रवर्द्धनमा लागेपछि सुदीप आफैँले पर्यटक गाइड तालिम पनि लिएका थिए ।

जगंलै जगंलको बाटो मर्दी हिमाल पदमार्गको रूपमा स्थापित हुँदै गर्दा मर्दी आउने पर्यटकलेले बाटो नबिराओस् भनेर धेरै ठाउँमा पदमार्गको सूचना दिएको साङ्केतिक बोर्ड त कतै रुखमा रङ्ग लगाइएको थियो । त्यसरी मर्दी हिमाल पदमार्ग स्थापित गरेको बताउँछन् पर्यटन व्यवसायीहरू । 

आजभोलि मर्दी हिमाल पद यात्रामा जाने पदयात्रीलाई निकै सहज छ । ठाउँ ठाउँमा होटेलहरू छन् भने पदमार्ग पनि व्यवस्थित बनाइएको छ । 

यसरी सुदीपको पहलकदमीमा दस वर्षमै मर्दी पदमार्ग नेपाली र विदेशीका लागि सबै भन्दा लोकप्रिय पदमार्गका रूपमा स्थापित हुन पुग्यो । पछिल्लो समय सबैभन्दा धेरै पदयात्री मर्दी पदमार्गमाजाने गरेको तथ्याङले देखाउँछ । मर्दी पदमार्गलाई हिमाल सम्बन्धी विभिन्न गतिविधिका केन्द्र बनाउन कस्सी रहने सुदिप मर्दीलाई पर्वतारोहण एकेडेमी बनाउन विभिन्न सरकारी कार्यालय तथा पर्यटनसँग सम्बन्धित सङ्घ स्ांस्थाहरुमा धाईरहने गर्थे । मर्दी हिमाल क्षेत्रलाई आर्थिक क्षेत्रका रूपमा विकास गर्न उनले स्की खेलदेखि हाइ अल्टिच्युड दौड, साइक्लिङ लगायतका गतिविधिमा विश्वलाई आकर्षित गर्ने देखिलाली गुराँसको जुस र खर्कमा बाँधिएका भैँसीको दूधलाई तिन हजार उचाइ माथि चरेको भैँसीको दूधको रूपमा ब्राण्डिङ गर्ने योजना बनाएका थिए तर उनको योजना भने अधुरो रहने भएको छ । प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रालाई चिनाउने उनै पर्यटन व्यवसायी सुदीप गौतमको भीरबाट लडेर मृत्यु भएको छ । मर्दी पदयात्राको हाई क्याम्पमा शुक्रवार साँझ ६ बजे पानीको पाइप मर्मत गर्ने क्रममा उहाँको भीरबाट लडेर मृत्यु भएको हो । पानी मर्मत गर्न जानु भएका ३५ वर्षीय गौतम चिप्लिएर एक्कासि भीरबाट खसेको बताइन्छ । भीरबाट अन्दाजी ५० मिटर तल खस्नुभएका गौतमको टाउकोमा चोट लागेको थियो । हाई क्याम्पको होटेलबाट अन्दाजी ३० मिनेट टाढा उक्त घटना घटेको स्थानीयवासीले बताएका छन् । घटना लगत्तै उहाँलाई स्थानीयले उद्धार गरेर ल्याए पनि उहाँको बाटैमा मृत्यु भएको थियो । अलबिदा सुदिप गौतम ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button