तपाईँ सुन्दै हुनुहुन्छः

कृषकहरूको जुट खेतीप्रतिको आकर्षण घट्दै

सुनसरी । सुनसरीमा अनुदान नपाउँदा कृषकहरूको जुट खेतीप्रतिको आकर्षण घट्दै गएको छ ।

जुट खेती गर्ने किसानलाई आवश्यक अनुदान उपलब्ध नगराउँदा उक्त खेतीप्रतिको आकर्षण घट्दै गएको हो ।

गुणस्तरीय बीउको अभावसँगै उत्पादनपछि मूल्य नपाउने समस्याले किसानले जुट खेतीलाई वार्षिक झन्झटको रूपमा लिँदै खेती गर्न छाडेको बर्जुका किसान सियालाल पासवानले बताए ।

जुट खेतीमा किसानको आकर्षण वर्षेनी घट्दै जाँदा कच्चा जुटको अभाव भने मोरङ–सुनसरी औद्योगिक करिडोरका जुट उद्योगलाई भइरहेको देखिएको छ ।

नेपालको सातवटै प्रदेशमध्ये सबैभन्दा बढी क्षेत्रफलमा जुट खेती हुने जिल्ला प्रदेशको १ को सुनसरी भए पनि अहिले जुट खेती साँघुरिँदै गएको देखिन्छ ।

सुनसरीको इनरुवा, कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, बर्जु, गढी तथा दुहबीको क्षेत्रमा बढी मात्रामा जुट खेती हुँदै आएको छ ।

कच्चा जुट अभावका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका जुट उद्योगले भारत र बङ्गलादेश लगायतका देशबाट जुट आयात गरेर वस्तु उत्पादन गर्दै आएका छन् । स्वदेशी कच्चा पदार्थ उत्पादनमा वर्षेनी कमी हुँदै गएपछि ठूलो लगानीका र धेरै मजदुरलाई रोजगारी दिने उद्योग समेत समस्यामा पर्दै गएको अरिहन्त मल्टी फाइबर्स लिमिटेडका सि .ई .ओ. गोविन्द बजगाईँले बताए ।

यस क्षेत्रमा चालु अवस्थामा रहेका ५ वटा जुट उद्योगलाई वस्तु उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा जुटको २५ देखि ३० प्रतिशतको हाराहारीमा मात्र नेपाली जुट उत्पादनले धान्दै आएको तथा बाँकी ७० प्रतिशत कच्चा जुट भारत, बङ्गलादेश लगायत अन्य मुलुकबाट आयात गरिन्छ । जसमध्ये ५५ प्रतिशत भारत र १५ प्रतिशत बङ्गलादेशबाट आउने गरेको बजगाईँको भनाई छ ।

प्रशोधन प्रक्रिया झन्झटिलो र मजदुर अभाव खेप्दै उत्पादन गरेको जुटको उचित मूल्य नपाएका कारण उत्पादन गर्न छाडेको कोसी गाउँपालिकाका अर्का किसान मनोज यादवको भनाई छ ।

कच्चा जुट अभावकै कारण सुनसरी, मोरङ औद्योगिक क्षेत्रमा खुलेका ११ मध्ये हाल ५ वटा मात्र जुट उद्योग सञ्चालनमा छन् । करिडोरका ५ उद्योगले समेत कच्चा जुट आयात गरेर उत्पादित वस्तुको निकासी गर्दै आएका छन् ।

जुट खेतीमा नेपाली किसानलाई प्रोत्साहन गर्न र उत्पादित वस्तु प्रयोगमा उपभोक्तालाई अनिवार्यता कायम गर्न सक्नुपर्ने उद्योगीहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button