तपाईँ सुन्दै हुनुहुन्छः

अनुगमनका क्रममा खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको फेला

विराटनगर । महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर) मा आएका गुनासोलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका मेयर नागेश कोइरालाको नेतृत्वको टोलीले आज माछामासु पसलको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको छ । मेयर कोइरालाको नेतृत्वमा गरिएको आकस्मिक अनुगमनका क्रममा खसीको मासुकै मूल्यमा बाख्राको मासु बिक्री गरेर व्यापारीहरूले उपभोक्ता ठगी गर्ने गरेको पाइएको छ ।

दसैंमा माछामासु बढी खपत हुने भएकाले व्यापारीले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको गुनासो आएको थियो । कतिपय उपभोक्ताले घरमा लगेर पकाउँदा नपाक्ने, एकछिन राखेपछि गन्हाउने गरेको हटलाइन मार्फत टिपाएका थिए ।

विराटनगर–२ तीनपैनी स्थित नेवी फ्रेस हाउस, हाटखोलास्थित जेकी मिटमा बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको छ । अनुगमन टोलीले बाख्राको मासु जफत गरेर तत्कालै नष्ट गरेको थियो ।

त्यसैगरी विराटनगर–८ देवकोटा चोकस्थित विराट एकीकृत कृषि फार्म ५ महिनादेखि डी फ्रिजमा राखेको माछासमेत फेला परेको छ । उक्त माछा पूरै गनाएको थियो । पसलका कर्मचारीले समेत ५ महिनादेखि मरेको माछा फ्रिजमा राखेको स्वीकारेका थिए ।

मेयर नेतृत्वको टोलीले गुद्रीसहित सरोचिया, बरगाछी, तीनपैनी चोक, देवकोटा चोक, हाटखोला लगायतका स्थानमा सञ्चालित करिब डेढ दर्जन माछामासु पसलको अनुगमन गरेको थियो । खान मिट, गाउँले मिट सेन्टर, जाकिर मिट पसल, रोयल मल्लिक मिट सेन्टर लगायतका पसलमा फ्रिज भित्र गनाएको मासु फेला परेको थियो ।

टोल फ्रि (हर्ट लाइन) मा आएका गुनासो सम्बोधन गर्ने क्रममा महानगरले माछामासुको पसल अनुगमन गरेको महानगरका मेयर कोइरालाले बताउनुभयो । उहाँले धेरै पसलले उपभोक्तालाई ठगिरहेको भेटिएको जानकारी दिनुभयो ।

केही पसलले मासुमा स्वास्थ्यका लागि हानिकारक रङ्गसमेत प्रयोग गर्ने गरेको भेटिएको थियो । त्यस्ता मासुको अनुगमन टोलीले तत्कालै छाला निकाल्न निर्देशन दिएको थियो । मेयर कोइरालाले अब फेरि रङ्ग दलेको भेटिए पसल नै शिल गर्ने चेतावनी दिनुभयो ।

व्यापारीहरूले एक पटकलाई माफी दिन आग्रह गर्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button