तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारकर्मीसँग आचारसंहिता अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुनसरी । मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि सुनसरीको जिल्ला प्रशासन कार्यालय इनरुवामा निर्वाचन आचारसंहिता बारेमा सञ्चारकर्मीसँग छलफल कार्यक्रम गरिएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयले निर्वाचन आयोगबाट जारी भएको आचारसंहिताको बारेमा सञ्चारकर्मीसँग जिल्ला प्रशासन कार्यालय सुनसरीको सभाहलमा अन्तरक्रिया तथा छलफल भएको हो ।

मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी गरेको र आयोगले त्यसका लागि निर्माण गरेको आचार संहिताको बारेमा सञ्चारकर्मीहरूलाई जानकारी दिन अन्तरक्रिया र छलफल गरेको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।

यो आचारसंहिता लागू भएकाले सबैले कार्यान्वयन गर्नुपर्ने र सञ्चारकर्मी तथा सञ्चार माध्यमहरूले त्यसमा बढी निगरानी गर्नुपर्ने पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले निर्वाचन आचारसंहिताको बारेमा जानकारी दिनुहुँदै निर्वाचनको पूर्व, निर्वाचनका दिन र निर्वाचनपछि मतगणनासम्ममा पालन गर्नुपर्ने आचारसंहिताका बारेमा अभिमुखीकरण समेत गराउनुभएको थियो ।

छलफलमा सञ्चारकर्मीहरूले निर्वाचनलाई स्वच्छ निष्पक्ष र धाँधलीरहित बनाउनका लागि सञ्चारकर्मीलाई निर्बाध रुपमा समाचार सङ्कलनको वातावरण निर्माण गर्नुपर्ने, सञ्चारकर्मी र सञ्चार माध्यमले उठाएका सवालमा ध्यान दिई कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने लगायतको बारेमा सुझाव दिएका थिए ।

कार्यक्रममा सुनसरीका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) प्रभु प्रसाद ढकालले शान्ती सुरक्षाका लागि नेपाल प्रहरीले पूर्ण प्रतिबद्ध भएर काम गर्दै आएको र गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य इकवाल अहमदले आचारसंहिताको बारेमा जानकारी दिएर मात्रै नहुने भन्दै कार्यान्वयन गर्नुपर्ने र सञ्चारकर्मीलाई निर्वाचनको सबै प्रक्रियामा निर्बाध रुपमा समाचार सङ्कलनको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button