तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगमा प्रेस कार्यालय स्थापना

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरी आजदेखि सञ्चालनमा ल्याएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज सो कार्यालयको शुभारम्भ गर्दै आयोगका गतिविधि तथा सूचनालाई तत्काल र सही रुपमा प्रवाहका लागि विज्ञसहितको संयन्त्र खडा गरिएको बताउँदै सञ्चारमाध्यमले स्वनियमन र स्वनियन्त्रणको मान्यतालाई ध्यान दिएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्षरुपमा सम्पन्न गर्न सघाउन आग्रह गर्नुभयो ।

file photo

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन आफ्ना सूचना तथा सन्देश आम मतदाता, उम्मेदवार, राजनीतिक दल लगायतका सरोकारवाला समक्ष प्रभावकारी तवरले सम्प्रेषण र सञ्चारमाध्यमसँग उचित सहकार्य गर्न र सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको उपयोग गरी आयोगका गतिविधि अझ प्रभावकारीरुपमा सम्प्रेषण गर्न एवं तिनको अनुगमन व्यवस्थित गर्न यो कार्यालय खडा गरेको हो । आयोगले २०७९ भदौ १९ गते स्वीकृत गरेको प्रेस अफिस स्थापना तथा सञ्चालनसम्बन्धी अवधारणा पत्र बमोजिम यो संयन्त्र स्थापना भएको हो ।

यस कार्यालयबाट सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सूचना प्रवाहका लागि एकद्वार प्रणाली लागू भई आयोगले प्रवाह गर्ने हरेक प्रकारका सूचना तथा सन्देश प्रभावकारी तवरले लक्षित वर्गसम्म प्रवाह हुनेछ । यस कार्यालयबाट सञ्चारमाध्यमले मागेको वा खोजेको बखत आयोगबाट प्रवाह गर्न मिल्ने सूचना सहजै उपलब्ध गराइनेछ । निर्वाचन प्रक्रियामा सामाजिक सञ्जालको उपयोगमा वृद्धि र आयोगका सामाजिक सञ्जालको पहुँच बढ्ने, निर्वाचनमा मतदाताको सहभागिता अभिवृद्धि हुने, निर्वाचन र मतदानका बारेमा निर्वाचनका सरोकारवाला लगायत आम मतदाता सुसूचित हुने आयोगको अपेक्षा रहेको छ ।

निर्वाचनसँग सम्बन्धित दुष्प्रचार, मिथ्या सूचना र घृणास्पद अभिव्यक्तिको रोकथाम गर्न, निर्वाचनमा हुने बदर मत गत निर्वाचनको तुलनामा कम गर्न यस कार्यालयले भूमिका निर्वाह गर्नेछ । साथै निर्वाचन प्रचारप्रसारमा आमसञ्चार क्षेत्र र सामाजिक सञ्जालसँग साझेदारी तथा सहकार्य अभिवृद्धि हुनेछ ।

प्रेस कार्यालयले सामाजिक सञ्जाल तथा डिजिटल मिडियामा भ्रमपूर्ण, अफवाहपूर्ण तथा मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति र सूचना तोडमोड गर्ने व्यक्तिलाई त्यस्तो सामग्री, सूचना सामाजिक सञ्जालबाट तत्काल हटाउन लगाउने, त्यस्तो व्यक्तिलाई कानुनबमोजिम तत्काल कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउने र यसरी कारबाही गर्ने सम्बन्धमा कुनै जटिलता देखिएमा निर्देशक समितिसमक्ष रायसहित पेस गर्ने प्रबन्ध गरिएको छ ।

आयोगले सञ्चारमाध्यममाथि अनुगमन र कारबाही प्रेस काउन्सिलले नेपालले गर्ने भएकाले आयोगले सञ्चारमाध्यममाथि कुनै कारबाही गर्ने तयारी नगरेको स्पष्ट गर्दै सञ्चारमाध्यमले निर्वाचनका समयमा स्वनियमनको नीति कार्यान्वयन गरी निर्वाचन आचारसंहिताको पालनामा सघाउन आग्रह पनि गरेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button