तपाईँ सुन्दै हुनुहुन्छः

खाद्यले दाङका खसिबोका काठमाडौँ  पठाउन थाल्यो

देउखुरी I लमही नगरपालिका–९ रिहारका मानसिंह वलीले व्यावसायिक रूपमा बाख्रा पाल्नुभएको छ । उहाँले व्यावसायिक रूपमा बाख्रा पालन गर्न थालेको नौ वर्ष भयो । उहाँसँग ५0 खसीबाख्रा थिए । यसपालिको दसैँमा १२ खसी बिक्री गरेको उहाँले बताउनुभयो । 

“तौल गरेर बिक्री गर्दा ढुक्क हुँदो रहेछ”, उहाँले भन्नुभयो, “सरकारले दिने अनुदानमा पनि पाइने र खसिबोका बिक्री पनि हुने, सहकारीले आफ्ना सदस्यले पालेका खसिबोका तौल गरेर खरिद बिक्री गर्ने गरेको छ ।” गत वर्ष दसैँमा मात्रै रु तीन लाखका खसी बिक्री गरेको उहाँको भनाइ छ ।

जिल्लाको लमही–९ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा किसान, व्यवसायी, स्थानीय प्रशासन, जनप्रतिनिधि, सहकारीका पदाधिकारीको बैठकले जिउँदा खसी बोकाको खरिद मूल्य निर्धारण गरेको हो । मूल्य निर्धारण गरेपछि तौलका आधारमा खसी बोकाको मूल्य तोकिने गरिन्छ । 

कर्मठ सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडले बिहीबार मात्रै एक सय १८ खसिबोका बिक्री गरेको छ । सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले ३४ गरी जम्मा एक सय ५२ खसीको जम्मा रु २७ लाख ७१ हजार पाँच सय चार बराबरको कारोबार गरेको संस्थाका सुपरभाइजर पार्वती बस्नेतले जानकारी दिनुभयो । 

दाङबाट यस वर्ष सात सय खसिबोका काठमाडौँ पठाउन थालिएको छ । दसैँ सुरु भएदेखि पाँच सय खसिबोका काठमाडौँ पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो । किसानलाई बिचौलियाको मारबाट बचाउन सहकारीले किसानसँग समन्वय गरेर खरिद गर्छ । तिनै खसिबोका खाद्यले किन्ने गरेको उहाँको भनाइ छ । 

गत वर्ष जिल्लाबाट एक हजार खसिबोका काठमाडौँ लगिएको थियो । यसपालि खाद्यले दाङलाई दिएको कोटा सात सय रहेको र थप माग भएमा तीन सय कोटा थप गरेर एक हजारसम्म पठाउन सकिने अवस्था रहेको सुनारले बताउनुभयो । जिल्लामा सहकारी संस्थासँग समन्वय गरेर खसिबोका खरिद गर्ने काम भइरहेको उहाँले बताउनुभयो । 

पच्चीस किलोभन्दा माथिको जिउँदो खसीलाई रु पाँच सय ७० प्रतिकिलो, २० देखि २५ किलोसम्मको खसीलाई रु पाँच सय ६० किलोका दरले खरिद भइरहेको प्रमुख सुनारले जानकारी दिनुभयो । अठार किलोभन्दा माथिका बोकाको प्रतिकिलो रु पाँच सय ५५ मा खरिद भइरहेको छ । वार्षिक रु दुई करोड बढीका खसिबोका काठमाडौँ पठाउने गरिएको छ ।

 दाङ खसीको मासुमा आत्मनिर्भरसँगै बाहिरका जिल्लामा खसिबोका पठाउने अवस्थामा पुगेको हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत महेश आचार्यले बताउनुभयो । हेफरको सहयोगमा किसानले प्रशस्त खसिबोका पाल्ने गरेका कारण दाङ खसीको मासुमा आत्मनिर्भर भएको हो । लमही नगरपालिकाभित्रका चारवटा सहकारी संस्थाले खसिबोका खरिद गर्ने गरेका छन् । किसानलाई सहुलियत दिने र बिक्री गर्न सजिलो होस् भनेर यसो गरिएको उहाँले बताउनुभयो । 

 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहारलाई मध्यनजर गरेर खसिबोका खरिद गरेर सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । यसबाहेक खसी बोकाको व्यापार गर्दै आएका व्यक्ति विशेषले पनि व्यक्तिगत सम्पर्कका आधारमा मागबमोजिम काठमाडौँका व्यवसायीका लागि खसिबोका पठाउँदै आएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button