तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा आजबाट अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन भएको छ ।

युएनडिपीको ११ करोड ९७ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्रद्वारा अस्पतालमा बिरामीको उपचारका क्रममा उत्पादन हुने जोखिमयुक्त र जोखिमरहित फोहोरको वैज्ञानिक व्यवस्थापन कार्य आजबाट सुरु भएको छ ।

अस्पताल परिसरमै निर्माण गरिएको केन्द्रको आज एक कार्यक्रमबिच युएनडिपी नेपालका क्षेत्रीय निर्देशक बर्नाडो कोकोले उद्घाटन गरेसँगै केन्द्र सञ्चालनमा आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वीरेन्द्रबहादुर प्रधानले बताउनुभयो ।

केन्द्र निर्माणका लागि युएनडिपीले ११ करोड ९७ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रधानले जानकारी दिनुभयो ।

अस्पतालबाट दैनिक १७० केजी स्वास्थ्यजन्य फोहोर उत्पादन हुँदै आएको छ । आजबाट सञ्चालनमा आएको केन्द्रमा जडान गरिएको मेसिनबाट प्रतिघण्टा ५० केजी स्वास्थ्यजन्य फोहोर वस्तु प्रशोधन गर्ने क्षमता रहेको छ ।

यसअघि अस्पतालमा निस्कने स्वास्थ्यजन्य फोहोर वस्तु, अस्पताल परिसरकै खाली जग्गामा अव्यवस्थित रूपमा फालिने गरिएको थियो ।

अब केन्द्र सञ्चालनमा आएपछि भने स्वास्थ्यजन्य फोहोरको वैज्ञानिक ढंगले व्यवस्थापन गर्न थालिएको र यसले अस्पताल तथा आसपासका क्षेत्रमा वातावरणीय प्रदूषण पनि नहुने अस्पतालका प्रवक्ता डाक्टर उदयनारायण सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button