तपाईँ सुन्दै हुनुहुन्छः

शोकमा डुबेको ‘जलबाङ’ गाउँ

दीपक शर्मा,सल्यान I नेपाली हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाड वडादर्शैं भित्रिएर रौनक छाइरहँदा जलबाङ गाउँ भने शोकले सुनसान बनेको छ । दुर्घटनामा आफन्त गुमाएकाहरुमा आशुले भेल बगी रहेका छन् । बाँकेको ढकेरीमा विवाहको भोज खान गएका सकुशल फर्कन पाएनन् । विवाह भोज खान ९ जना मध्ये एउटै गाउँका ८ जनाको मृत्यु भएपछि अहिले जलबाङ शोकमा डुबेको छ । 

सल्यान कपुरकोट गाउँपालिका ६ जलबाङ गाउँका मिलेर सोमबार बिहान अर्थात् दशैँको दोस्रो दिन बाँके जान रा १ ज ५६३ नम्बरको जिप रिजर्भ गरे । जिपका चालक २१ वर्षीय जीत बहादुर बोहरा पनि जलवाङकै थिए । सोमबार बिहान बोहरा आफूसहित नौ जनाको रिजर्भ लिएर बाँकेको ढकेरी गएका थिए । दिनभर बिहेमा समय लागेपछि साँझ तिर फर्किएका घर आउन केही घण्टा मात्र बाँकी रहँदा एक जना बाहेक आठ जनाको घटनास्थलमै मृत्यु भयो । मङ्गलवार निधन भएका आठमध्ये एकजना चालक र सातजना गाउँमै कृषि पेसामा रहेका किसान थिए । बुधबार गाउँ नजिकै रोल्पा निगालपानीमा लाग्ने कृषि हाटबजार लाग्ने भएकाले बिहेकै दिन साँझ ढकेरीबाट फर्किएका थिए । 

मृतक मध्ये ५ जना एकाघरका (हाल अंशबण्डा गरी सकेको ) रहेका छन् । घटनामा जेठी बुहारी कुमारी वली, माइलो धरम (धर्म) वली, साइँलो टोप बहादुर वली उनको छोरा बसन्त वली र कान्छो ललित वली कहिल्यै नफर्कने गरी बिदा भए । यस्तै गाउँकै सुरेश खत्री र खुमलाल वलीको पनि निधन भयो । निधन भएका आठ जना मध्ये सात जनाको सामूहिक दाहसंस्कार गरिएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनु भयो । दुर्घटनामा परी एकजना गम्भीर घाइते छन् । गम्भीर घाइते कपुरकोट ६ जलवाङका ३६ वर्षीय तिलक वली रहनु भएको छ । उहाँको नेपागञ्जमा उपचार भइरहेको छ । जिप सडकबाट झन्डै दुई सय मिटर तल खसेको छ । चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

जिप राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका ३ मुलपानीमा बुधबार बिहान दुर्घटना भएको थियो । एउटै गाउँका ८ जनाको मृत्यु भएपछि कपुरकोट गाउँपालिकाले आज शोक बिदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button