तपाईँ सुन्दै हुनुहुन्छः

जिल्लास्तरीय महिला भलिबलको उपाधि मकवानपुरगढीलाई

मकवानपुर । मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधि मकवानपुरगढी गाउँपालिकाले जितेको छ ।

बुधबार हेटौँडाको हुप्रचौरमा सम्पन्न फाइनल खेलमा बकैया गाउँपालिकालाई पराजित गर्दै मकवानपुरगढीले उपाधि जितेको हो ।

फाइनल खेलमा मकवानपुरगढीले बकैयालाई २५–१५, २५–१९ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा विजेता बन्दै मकवानपुरगढीले नगद ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता बकैया गाउँपालिकाले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

विजेता र उपविजेतालाई हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा मकवानपुरगढीकी सुस्मिता योञ्जन प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा मकवानपुरगढीकै सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर, रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन घोषित हुँदा मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दीपिका कार्की उदीयमान खेलाडी घोषित भएका छन् ।

यसअघि सोमबार सम्पन्न उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता तथा उपविजेतालाई पनि बुधबार नै सिल्ड, मेडल तथा प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरिएको छ ।

उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दुवै उपाधि हेटौँडा–१७ ले जितेको थियो भने पुरुषतर्फ हेटौँडा–१९ उपविजेता हुँदा महिलातर्फ हेटौँडा–५ उपविजेता बनेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button