तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।

बागमती प्रदेशको प्रदेश मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गर्ने व्यवस्थाको लागि मङ्गलवार पेश भएको अध्यादेश प्रमुख शर्माले बुधबार (आज) जारी गर्नुभएको हो ।

नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईँले जानकारी दिनुभयो । अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसङ्ख्या सेवासम्बन्धी कामकारबाहीलाई प्रभावकारी नियमन गर्न तथा नीतिगत निर्देशनका लागि स्वास्थ्य मन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या समिति गठन हुने व्यवस्था गरेको छ ।

त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ । अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘प्रदेशभित्रका अस्पतालको सञ्चालन र व्यवस्थापन आदेश, २०७५’ खारेज गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button