तपाईँ सुन्दै हुनुहुन्छः

विश्वविख्यात स्की आरोही नेल्सन मृत फेला

गोरखा । गोरखास्थित मनास्लु हिमालमा सोमबारदेखि हराइरहेकी अमेरिकी नागरिक मृत फेला परेकी छन् । विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी हुन् ।

हिलारी सोमबार मनास्लुको चुचुरोबाट स्की गरेर तल झर्ने क्रममा मनाङ जिल्लाको भीमथाङ एक्कासी बेपत्ता भएकी थिइन । बुधबार बिहान गाइडहरूले हिलारीको मृत शरीर भेटाएका थिए ।

नेल्सनको शव निकालेर चुमनुव्री गाउँपालिका वडा नम्बर १ स्थित सामागाउँ ल्याएर मुचुल्का उठाइ सिम्रिक एयरको हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

मृतकको शवको काठमाडौँ टिचिङ अस्पतालमा पोस्टमार्टम गरिने साङ्ग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेले बताउनुभयो । उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्किएका थिए ।

नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होत्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको २ वटा हिमालको चुचुरोबाट स्की गरेकी हिलारी मनास्लु हिमालमा स्की गर्ने क्रममा ज्यान गुमाउन परेको छ ।

अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button