तपाईँ सुन्दै हुनुहुन्छः

पानी नपर्दा मकै उत्पादनमा कमी

बैतडी । समयमा पानी नपर्दा बैतडीमा यस वर्ष मकै उत्पादनमा कमी आएको छ । मकै छरिसकेपछि २ महिनासम्म पानी नपर्दा बिरुवा सुक्न गई उत्पादनमा ह्रास आएको हो ।

file photo

आफूले २० रोपनी जग्गामा मकै खेती गरे पनि घोगा लाग्ने बेलामा बोट सुक्नाले उत्पादनमा कमी आएको पाटन नगरपालिका १० मटेका कृषक परमानन्द भट्टको दुःखेसो छ । गत वर्ष २० रोपनी जग्गामा ५ भकारी मकै भित्र्याए पनि यस वर्ष २ भकारी मात्र मकै भित्राइएको उहाँ बताउनुहुन्छ ।

‘खाए मकै नत्र भोकै’ भन्ने उखान चरितार्थ रहेको बैतडीको तल्लो स्वराड भेकमा समयमा पानी नपरेकै कारण यस वर्ष मकै उत्पादनमा ५० प्रतिशतले ह्रास आएको मेलौली नगरपालिका १ का कृषक नरेश विष्ट बताउनुहुन्छ ।

विगत केही वर्षदेखि मकैको बिक्री वितरण बढ्दै गए पनि उत्पादनमा कमी आउँदा कृषकहरूमा निराशा छाएको बताइन्छ । बैतडी जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा करिब १२ हजार ५ सय हेक्टरमा मकै खेती गरिने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button