तपाईँ सुन्दै हुनुहुन्छः

मेयर कप रनिङ भलिबलको उपाधि सिदिङ्वा गाउँपालिकालाई

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा आज सम्पन्न मेयर कप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ । जितसँगै सिदिङ्वाले नगद २ लाख ७५ हजार १ सय रुपैंया हात पारेको छ ।

पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो । सिदिङ्वाले पाथीभरा याङ्वरक गाउँपालिकालाई २५–२१,२५–१७,२१–२५ र २५–२१ को स्कोरमा पराजित गर्‍यो । सेमिफाइनलमा पाथीभरा याङ्वरकले फुङलिङ नगरपालिका र सिदिङ्वाले सिरिजङ्गा गाउँपालिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।

सिदिङ्वाको यो लगातार दोस्रो जीत हो । उसले अघिल्लो वर्षको मेयर कप पनि जितेको थियो । नगदसँगै सिदिङ्वाले रनिङकप, मेडल प्रमाणपत्र पाएको छ ।

उपविजेता पाथीभरा याङ्वरक गाउँपालिका नगद १ लाख ४० हजार १ सय रुपैंयाका साथ ट्रफी, मेडल र प्रमाणपत्रको हकदार भएको छ ।

सेमिफाइनलमा पुग्ने दुई टिम क्रमशः फुङलिङ नगरपालिका र सिरिजङ्गा गाउँपालिकालाई नगद ४५ हजार १ सय रुपैंयाका साथ ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको नगरप्रमुख अमिर मादेनले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश १ को उद्योग मन्त्री प्रतापप्रकाश हाङगाम, पूर्व मन्त्री बलबहादुर सम्सोहा, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि र समाजसेवीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button