तपाईँ सुन्दै हुनुहुन्छः

बङ्गलादेशमा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, ३० भन्दा बढी अझै बेपत्ता

ढाका। बङ्गलादेशको उत्तरी क्षेत्रमा आइतबार डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । डुङ्गा दुर्घटनामा ३० देखि ४० जना अझै बेपत्ता रहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

प्रहरी निरिक्षक सिराजुल हुडाका अनुसार राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा सोमबार थप सात जनाको शव फेला परेको छ ।

अधिकारीका अनुसार करिब १०० जना यात्रु बोकेको डुङ्गा आइतबार दिउँसो डुबेको थियो ।

सोमबार दिउँसो सिन्ह्वासँग फोनमार्फत जानकारी दिँदै प्रहरी अधिकारीले भने, “सोमबार बिहान थप सात जनाको शव फेला परेको छ । यससँगै आइतबार २५ जनाको मृत्यु भएकोमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।”

“अझै हराइरहेका ३० देखि ४० जनाको खोजी कार्य जारी छ,” उनले भने ।

’डुङ्गालाई तानेर किनारमा लगिएको छ । ती प्रहरी अधिकारीका अनुसार उद्धारकर्ताहरूले नदीको पानीको बहाव र पानीको कडा बहाववीच उद्धार कार्य जारी राखिरहेका छन् ।

प्रहरीका अनुसार डुङ्गामा क्षमताचन्दा अत्यधिक भार भएका कारण डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सयौं नदीले घेरिएको बङ्गलादेशमा डुङ्गा दुर्घटनालाई सामान्य घटनाका रूपमा लिने गरिन्छ । यद्यपि, अझै पनि दक्षिण एशियाली यस मुलुकमा डुङ्गा यातायातको एक प्रमुख साधन हो र तिनीहरूमध्ये अधिकांश प्रायः अत्यधिक भारसहित चलाइने गरिन्छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button