तपाईँ सुन्दै हुनुहुन्छः

सेवा सुविधा उपलब्ध गराउन श्रमजीवी पत्रकार सङ्घको आग्रह

काठमाडौँ । श्रमजीवी–पत्रकार सङ्घले सञ्चार संस्थामा कार्यरत श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौता तलबसहित सबै सेवा सुविधा उपलब्ध गराउन माग गरेको छ । सङ्घद्वारा आज जारी विज्ञप्तिमा सञ्चार संस्थामा कार्यरत पत्रकारलाई दसैँ अगावै सेवा सुविधा र तलब उपलब्ध गराएर चाडपर्व मान्ने वातावरण तयार गर्न व्यवस्थापन समक्ष आग्रह गरिएको छ ।

सङ्घको विज्ञप्तिमा भनिएको छ ‘पत्रकारले दसैँको मुखमा तलब नपाउने, सेवा सुविधा र दसैँ भत्ता समेत नपाउने लगायतका गुनासो विगतमा झैँ यसपल्ट पनि आइरहेका छन् । हाम्रो सङ्गठन सम्बन्धित सञ्चार गृहहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दसैँ भत्ता लगायत अन्य सेवा सुविधा उपलब्ध गराउन जोडदार माग गर्दछ ।’

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नेबारे, स्वरोजगार मिडियाको प्रवर्द्धन एवं संरक्षण गर्ने विषयमा राज्यको ध्यान पुग्न नसकेको उल्लेख गर्दै सङ्घले सञ्चार गृहबाट श्रमजीवी पत्रकारमाथि अन्याय भइरहेको अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था रहेको विज्ञप्ति मार्फत् बताएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button