तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा दसैँ लक्षित बजार अनुगमन सुरु

जुम्ला । जुम्लामा चाडपर्व लक्षित गरी बजार अनुगमन थालिएको छ । चाडपर्वका बेला हुने कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न, म्याद गुज्रेका सामाग्रीको विक्री रोक्न बजार अनुगमन थालिएको हो ।

चाडपर्वमा अस्वाभाविक मूल्यवृद्धि गरी उपभोक्ता ठग्ने प्रवृत्ति भएकाले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र रुपमा अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमीला रिजालले बताउनुभयो ।

सदरमुकाममै उपभोक्ता ठग्ने, म्याद गुज्रिएको सामान विक्री गर्ने क्रम बढेकोले ग्रामीण बजार अनुगमनमा समेत जोड दिनुपर्ने प्रजिअ रिजालको भनाई छ । स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति हुन्छ । तर, ती समिति सक्रिय भएर बजार अनुगमन गरेको पाइँदैन ।

सदरमुकामदेखि गाउँगाउँमा पटक पटक गरिने अनुगमनले उपभोक्ता ठग्ने व्यापारी माथि कारबाही नहुँदा व्यापारीले मनपरी गर्दै आएका छन् । अधिकांश जुम्लाका व्यापारीले अझै पसलमा दैनिक मूल्यसूची नराखी हचुवामा विक्री गर्ने गरेका छन् । एउटै वस्तुको मूल्य पसलै पिच्छे फरक हुँदा उपभोक्ता मारमा परेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख डाक्टर ईश्वर सुवेदीले जुम्लामा अखाद्य वस्तुको विक्री हुने गरेको बताउनुभयो ।

ग्रामीण बजारमा मंहगी सँगै अखाद्य वस्तुको विक्री बढ्ने भएकोले स्थानीय सरकारले कडाइका साथ नियमित बजार अनुगमन गर्नुपर्नेमा उहाँको जोड छ ।

जुम्लाका एैरेनी, तातोपानी, लितोकोट, कुडारी, त्रिवेणी, रारा, नराकोट, गुरुचौर, गुठिज्युला, लासीबजार लगायतका ग्रामीण बजारमा अनुगमन गर्नु आवश्यक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button